राजनीति

मोरङ क्षेत्र नं. ३ को (क) मा बिहीवार मनोनयन दर्ता

इकागज |
कात्तिक २३, २०७९ बुधबार १८:५ बजे

काठमाडौं । निर्वाचन आयोगले मोरङ क्षेत्र नं. ३ को (क) मा मनोनयन दर्ता गर्नका लागि बिहीवार समय तय गरेको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार बिहीवार मनोनय दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । 

आयोगका उपसचिव ऋषिराम भुसालले नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने बताए । उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्था रहेकोमा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनयन दर्ता गर्न पाउने बताए । 


उपसचिव भुसालले बिहीवार बिहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्ने बताए । उनले कात्तिक २५ गते ४ बजे मनोनयन दर्ता भएका उम्मेद्वारलाई निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिएर मंसिर ४ गते नै निर्वाचन हुने पनि स्पष्ट पारे ।
 


Author

थप समाचार
x