राजनीति

देश विकासका लागि गठबन्धनको जित आवश्यक : नेता सिंह

इकागज |
कात्तिक २४, २०७९ बिहीबार २०:४१ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका छन् ।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज काठमाडौँ महानगरपालिका–१० स्थित सुवर्ण पार्कमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उहाँले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका हुन् ।


लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका नेता सिंहले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जित निकालेर देशको विकासमा लाग्ने बताए । 'आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि जनताले चुनेर पठाएका प्रतिनिधि संविधानसभाबाट जारी भएको संविधानलाई रक्षा गर्न, संस्थागत गर्न र प्रगतिको पथमा अघि बढ्नुपर्छ,' उनले भने । आगामी निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्न उनले आग्रह गरे ।

नेता सिंहले समावेशिता र लोकतन्त्रलाई मजबुत गर्न कांग्रेस नेतृत्वको गठबन्धन लाग्ने बताए । उनले लामो सङ्घर्षबाट प्राप्त गरेको अधिकारलाई सुनिश्चित र सुरक्षित गर्दै आगामी दिनमा विकासका काम अगाडि बढाएमात्र गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । उनले गणेशमान सिंहले मुलुक र जनताका लागि गरेको योगदानलाई आम जनतामाझ लैजानुपर्ने उल्लेख गरे । 


Author

थप समाचार
x