राजनीति

महोत्तरी–२ : कस्ताे छ अवस्था, के गर्दैछन् उम्मेदवारहरु ?

इकागज |
कात्तिक २६, २०७९ शनिबार १८:३४ बजे

महोत्तरी- निर्वाचन प्रयोजनको सभा, सम्मेलन खुला प्रचार अभियानको अवधि अब एक साताभन्दा कम बाँकी छँदा महोत्तरी–२ प्रतिनिधिसभा क्षेत्रमा चुनावी प्रचार उत्कर्षमा पुगेको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुरुप १७ कात्तिकदेखि मङ्सिर १ गतेसम्मको खुला प्रचार अवधि अब पाँच दिनमात्र बाँकी छँदा यहाँ दल र उम्मेदवारले चुनावी प्रचारलाई तीव्र बनाएका हुन् ।    
    
क्षेत्रका बस्तीबस्तीमा दल र उम्मदेवारका निर्वाचन चिन्हका प्रचार गीत र नाराका स्वर जताततै सुनिन्छन् । दल र उम्मदेवारले समूहमा घरदैलो र बस्तीबस्तीमा कोणसभाका कार्यक्रम सम्पन्न गर्दैछन् । “हामीले मतदातासँगको भेटलाई उच्च प्राथमिकतामा राखेका छौँ, यसबाहेक मतपत्रका नमुनामा मत दिने तरिकाबारे आम मतदातालाई बताउने गरिएको छ”, महोत्तरी–२ बाट प्रतिनिधिसभाका तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल (वृषेशचन्द्र लाल नेतृत्वको) का उम्मदेवार डा विजयकुमार सिंह भन्छन्, “खुला प्रचारको समय अवधि कम हुनाले एकै ठाउँ धेरै मतदातालाई आफ्ना कुरा भन्न कोणसभा पनि गर्दैछौँ ।”    
    
क्षेत्रमा पाँचदलीय सत्तागठबन्धनबाट लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी प्रतिनिधिसभाका उम्मदेवार छन् । त्यसैगरी यो क्षेत्रको प्रदेशसभा (१) र (२) मा क्रमशः लोसपाका जयनुल राइन र नेपाली कांग्रेसका जिल्ला सभापति नागेश्वर यादव सत्तागठबन्धनका उम्मदेवार छन् । प्रदेशसभा (१) मा भने सत्तागठबन्धनबाट राइन आधिकारिक उम्मदेवार भनिए पनि नेकपा (एकीकृत समाजवादी)का मञ्जु यादव पनि उम्मदेवार छिन् । यादव आपूmलाई गठबन्धनकै उम्मदेवार बताउँछन् । उता राइन पनि आपूmलाई सत्तागठबन्धनकै उम्मदेवार बताउँछन्। दुवै आ–आफ्ना प्रचारमा सक्रिय छन् । प्रदेशसभा क्षेत्र (२) मा भने सभापति यादव गठबन्धनको सर्वसम्मत हुन् ।    
    
यसैगरी एमाले-जसपा गठबन्धनले प्रतिनिधिसभामा यो क्षेत्रबाट एमालेका डा रामपरीक्षण यादवलाई उम्मदेवार बनाएको छ । चिकित्सा क्षेत्रमा सफल चिकित्सक डा यादव क्षेत्रका ३६ वटै वडा बस्तीमा एकपटक आफू पुगिसकेको बताउँछन् । “हामी सघन भेटघाटमा छौँ, यद्यपि अहिले सघन खेतीको बेला परेको हुँदा अपेक्षित भेट भने हुनसकेको छैन”, डा यादव भन्छन्, “ठाउँठाउँमा कोणसभा सम्पन्न गर्दैछौँ, मुख्यपक्ष मत बदर नहोस् भन्ने शिक्षामा जोड दिँदैछौँ ।” यो क्षेत्रका दुई प्रदेशसभा क्षेत्रमध्ये (१) मा जसपाका धर्मेन्द्रकुमार साह र (२) मा एमालेका लक्ष्मीनारायण भगत यो गठबन्धनका उम्मदेवार छन् । प्रदेशसभा क्षेत्र (२) मा यसअघि निर्वाचित प्रदेशसभा सदस्य सुरिता साहले यसपटक स्वतन्त्र हैसियतमा उम्मदेवारी दिएकी छन् ।    
    
महोत्तरी–२ प्रतिनिधिसभा क्षेत्रमा आठ स्वतन्त्रसहित १७ जना उम्मदेवार मैदानमा छन् । जसमा महिला छैनन् । त्यसैगरी यो क्षेत्रको प्रदेशसभा क्षेत्र (१) मा आठ स्वतन्त्रसहित १९ जना उम्मदेवार छन् । उम्मदेवारमध्ये एक महिला रहनुभएको निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–२ बलवाले जनाएको छ । यसैगरी प्रदेशसभा क्षेत्र (२) मा १३ स्वतन्त्रसहित २० जना उमेदवारभित्र दुई जना महिला छन् ।    
    
महोत्तरी–२ प्रतिनिधिसभा क्षेत्रमा चार नगरपालिका र तीन गाउँपालिकासहित सात स्थानीय तहका ३६ वडा समेटिएका छन् । जसमा बलवा नगरपालिकाका ११ (सबै), लोहारपट्टी नगरपालिकाका नौ (सबै), भङ्गाहा नगरपालिकाका पाँचवटा र औरही नगरपालिकाका तीनवटा वडा सामेल छन् । यसैगरी महोत्तरी गाउँपालिकाका पाँच (सबै), एकडारा र पिपरा गाउँपालिकाका एक–एकवटा वडा यस क्षेत्रमा पर्छन् । जम्मा ३६ वटा वडाभित्र १०० भन्दा बढी बस्ती छन् । प्रतिनिधिसभा क्षेत्रका ३६ वडामध्ये प्रदेशसभा क्षेत्र (१) मा १७ र (२) मा १९ वडा छन् ।    
    
राजनीतिक दलहरुमा पाँचदलीय सत्ता गठबन्धन (नेका, माओवादीकेन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा) मध्ये राष्ट्रिय जनमोर्चाको यहाँ गतिविधि देखिदैन । चुनावमा सत्तागठबन्धन, एमाले÷जसपा गठबन्धन, जनमत पार्टी, तमलोपा, राप्रपा नेपाल र राप्रपासहितका दलका उम्मदेवार प्रतिष्पर्धामा छन् । यहाँ आठ दलका उम्मदेवार भएपनि चुनावमा भने सत्तागठबन्धनका उम्मदेवार शरतसिंह भण्डारी र एमाले-जसपा गठबन्धनका उम्मदेवार डा यादवबीच मुख्य प्रतिष्पर्धा हुने बलवा–१० का सामाजिक कार्यकर्ता अव्दुल रफिकको अड्कल छ ।    
    
यसअघि २०७४ मा शरतसिंह भण्डारी निर्वाचित भएको यो क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा पनि वडातहको मतआधारले लोसपा पहिलो दल देखिन्छ । यद्यपि स्थानीयतहको निर्वाचनकै हुबहु हुने भन्न नसकिएपनि दलगत आँकलन गर्दा यसपालि प्रतिनिधिसभामा भण्डारी र एमाले-जसपा गठबन्धनका डा. यादवबीच मुख्य प्रतिष्पर्धा हुने अड्कल गरिएको रफिक बताउँछन् ।    
    
यसअघिका निर्वाचन परिणाम सुनाउनु र सोअनुसार नतिजा आउने कुरामा आफ्नो असहमति रहेको जनमत पार्टीका उम्मदेवार उमेश यादवको भनाइ छ । “जनता त परिवर्तन चाही रहेका छन्, अनि यसअघिका निर्वाचनमा फलाना फलाना जितेका थिए, फेरि तिनैबीच प्रष्पिर्धा हुन्छ भन्नु त परिवर्तन छेक्नु हो”, यादव भन्छन्, “निर्वाचनमा सबै सम्भावना उत्तिकै ज्यूँदा छन्, पुराना होउन् कि नयाँ ।” आपूmले जनताबीच स्नेह र वास्ता राम्रै पाइरहेको यादवको भनाइ छ ।    
    
दलका नेता र उम्मदेवार सहयोगीसहित निर्वाचनचिन्ह अङ्कित झण्डासाथ बस्तीबस्ती पसेपछि माहोल निर्वाचनमय बनेको छ । मतदाताबीच दलका नेता र उम्मेदवारले गर्ने वाचा सुन्दा त अब देश उँभो लाग्ने भएछ कि भन्ने भ्रम पर्ने गरेको भङ्गाहा–२ सिङ्ग्याही बस्तीका ३० वर्षीय युवा सञ्जय यादवको भनाइ छ । तर आफैं मतदाता भएर संसद र स्थानीयतह गरी यसअघि चार चुनाव हेरिसकेका यादव अब भने काम नदेखेसम्म कसैलाई पत्याउने अवस्था नरहेको बताउँछन् । “तर जेहोस् निर्वाचन जनताका लागि दल र नेता पर्गेल्ने अवसर चाहि हो”, यादव भन्छन्, “यस अभियानमा झुठो आश्वासन बाँड्दै आएका कति नाङ्गिने छन् ।”    
    
दल र उम्मदेवारको सघन आउजाउले बस्तीबस्तीमा राजनीतिक छलफल, चुनावी अड्कलबाजी र स्थानीय मुद्दाबारे सर्वसाधारण पनि कुराकानी गरिरहेका भेटिन्छन् । प्रचारमा भोट माग्न आउने दल र उम्मदेवारसँग स्थानीय आवश्यकताबारे जानकारी गराउन ठाउँठाउँमा सर्वसाधारणले आपसी छलफल नै गर्ने गरेका पनि पाइएको छ । “हाम्रो मुख्य समस्या सिँचाइ नपुग्नु हो, अनि बीउ, मल र खेतीपातीमा प्राविधिक सल्लाह र सुलभ ऋण हामीलाई चाहिन्छ”, बलवा–१० धमौरा बस्तीका बासिन्दाको छलफल निष्कर्ष सुनाउँदै सो बस्तीका ७५ वर्षीय वासुदेव पासवानले भने ।    
    
निर्वाचनमा दलबाहेकका स्वतन्त्र उम्मदेवारहरु निर्वाचन परिणाम आफ्नो पक्षमा हुने बताउन भने चुक्दैनन् । जनता अब फरक प्रतिनिधित्व चाहिरहेका हुँदा आपूmहरु स्वतन्त्रमध्येमा नै निर्वाचनको नतिजा जाने प्रदेशसभा क्षेत्र (२) का उम्मदेवार अनिल पाण्डेको दाबी छ । यसपालि महोत्तरी–२ प्रतिनिधिसभा क्षेत्रमा ९९ हजार सात सय सात मतदाता कायम छन् । महोत्तरी–२ प्रतिनिधिसभा क्षेत्रभित्र ६२ मतदानस्थलमा एक सय २६ मतदान केन्द्र रहेका निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–२ बलवाका सहायक निर्वाचन अधिकृत सुनिल चौहानले जानकारी दिए । अहिले सबै मतदान केन्द्रका लागि कर्मचारी नियुक्ती गरी तालिम दिने कार्यालयले तयारी गरेको चौहानको भनाइ छ ।  रासस
 



Author

थप समाचार
x