राजनीति

जितपछि प्रकाशमानले भने : प्रधानमन्त्रीका लागि साथीहरूसँग सल्लाह गर्छु

इकागज |
मंसिर ६, २०७९ मंगलबार १०:५० बजे

काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताएका छन् ।

मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बनेका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरूसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताएका हुन् । उनले मतदाताको भनाइ र मागहरूलाई सम्बोधन गर्ने बताए । उनले आम मतदाताहरूका लागि जनप्रतिनिधिहरूसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काममा आफू निरन्तर लाग्ने जिकिर गरे ।


सिंहले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका लागि काम गर्ने उल्लेख गरे । उनले काठमाडौंका नदीहरू वागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाइ सफा बनाउने र प्रदूषण नियन्त्रणका लागि काम गर्ने बताए ।

नेता सिंहले प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने बताए । उनले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको पनि बताए । नेता सिंहले देशभरबाट जितेर आएका काँग्रेस नेताहरूसँग सल्लाह लिएर आफू अघि बढ्ने उल्लेख गरे ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका काँग्रेस नेता सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पछि पार्दै विजयी भएका हुन् । नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत मात्रै ल्याउन सफल भए । 


Author

थप समाचार
x