राजनीति

दोखलामा अझै हुन सकेन सहमति, सुरु भएन मतगणना

इकागज |
मंसिर ६, २०७९ मंगलबार ११:३३ बजे

मकवानपुर- बागमती जिल्लाको दोलखा जिल्लामा अझै मतगणना सुरु भएको छैन । मंसिर ४ गते सम्पन्न मतदान प्रक्रिया निष्पक्ष नभएको भन्ने विषयमा विवादपछि यहाँको मतगणना अझै सुरु नभएको हो । 

प्रदेशको अन्य जिल्लाहरूमा मतगणना धमाधम चलिरहँदा र केही जिल्लाको केही क्षेत्रमा अन्तिम नतिजा समेत आइसक्दा पनि दोलखा जिल्लामा भने मतगणना नै सुरु हुन सकेको छैन ।


निर्वाचनको दिन दोलखा जिल्लाको बैतेश्वर गाउँपालिकाको वडा न १,२, ३, र ६, तामाकोशी जफे गाउँपालिकाको ३, गौरीशंकर गाउँपालिकाको वडा न १ र कालिञ्चोक गाउँपालिकाको वडा न १ मा सत्ता गठबन्धनले बुथ कब्जा गरेको आरोपमा विवाद चुलिँदै आएको दोलखाबाट सञ्चारकर्मी बुना घिमिरेले जानकारी दिइन् ।

सत्ता गठबन्धनले बुथ कब्जा गरेर आफ्ना मतदाताहरूलाई मात्र भोट हाल्न दिएको एमालेको आरोप छ । एमालेले यी क्षत्रमा पुन: मतदान कार्यक्रम नभइ मतगणना सम्बन्धी सबै कार्यक्रम बहिष्कार गरेको छ ।

आज विहानका लागि बोलाइएको सर्वदलीय बैठक समेत एमालेले बहिष्कार गरेपछि बैठक बस्न सकेन ।

यी क्षेत्रमा पुन: मतदान हुनुपर्ने माग गर्दै एमाले तर्फमा प्रतिनिधि सभाका उम्मेदवार बालकृष्ण सिवाकोटीले निर्वाचन कै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुन: मतदानको माग गर्दै उजुरी दर्ता गराएका थिए । तर, भोलि पल्ट मंसिर ५ गतेसम्म पुन मतदानबारे कुनै निर्णय नआएपछि एमालेबाट प्रदेश सभातर्फमा उम्मेदवारहरू भरतबहादुर केसी र नरबहादुर श्रेष्ठले समेत पुन: मतदानको माग गर्दै उजुरी दिएका छन् । 

उनीहरूको उजुरी निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगेको र केन्द्रले जे निर्णय पठाउँछ त्यही गर्ने भन्दै जिल्ला निर्वाचन कार्यालय पर्ख हेरको अवस्थामा रहेको बताइएको छ । 

सत्ता गठबन्धनले बजारको चोकचोकमा मतगणनाको माग गर्दै नाराबाजी गरेपछि स्थिति अशान्त बनेको छ । प्रहरीले सुरक्षा व्यवस्था बलियो बनाएको कारण कुनै घटना भने हालसम्म भएको छैन । गए राति समेत मतगणनाको माग गर्दै नाराबाजी गरिएको थियो । अहिले पनि सातदोबाटो चोकलगायतमा प्रहरी परिचालन गरिएको र सुरक्षा व्यवस्था चुस्त पारिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।


Author

थप समाचार
x