राजनीति

बलियाे गठबन्धनलाई ताेड्दै संघीय सांसदमा 'ह्याट्रिक’ गरेका यी दामाेदार

इकागज |
मंसिर ८, २०७९ बिहीबार २०:५८ बजे

बैतडी । बैतडीबाट प्रतिनिधिसभा सांसदमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन् । पार्टी प्रदेश अध्यक्षसमेत रहेका भण्डारीले तेश्रोपटक पनि जित हासिल गरेका हुन् । 

उनले २०७० को संविधानसभा निर्वाचन, २०७४ को प्रतिनिधिसभा र २०७९को प्रतिनिधिसभा निर्वाचनमा लगातार जित हासिल गरेका हुन् । 


भण्डारी पहिलोपटक २०७० मा जित हासिल गर्दा अर्थराज्यमन्त्री समेत बनेका थिए । उनले गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुवँरलाई पराजित गरेका हुन् । 

भण्डारीले ३३ हजार ६ सय ११ मत प्राप्त गर्दा कुवँरको ३२ हजार ८० मत रहेको छ । भण्डारी २०६४ सालमा कुवँरसँगै पराजित भएका थिए । २०७० मा कुवँरलाई नै हराएका भण्डारी २०७४ मा भने बाम गठबन्धन हुँदा कुवँरसमेतको साथले जितेका थिए । अहिले फेरि कुवरसँगको भिडन्तमा उनी विजयी भएका हुन् ।  

यसैगरी बैतडी प्रदेशसभा (क) मा पनि एमालेकै सुरेन्द्र पालले विजय हासिल गरेका छन् । उनले १२ हजार ८ सय ३१ मतसहित निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवार हरी मोहन भण्डारीले ११हजार १८ मत पाए भने, गठबन्धनका कांग्रेस उम्मेदवार बीरबहादुर बिष्टले १० हजार ९ सय ५३ मत ल्याएका छन् । 

प्रदेशसभा क्षेत्र (ख) मा भने गठबन्धनका कांग्रेस उम्मेदवार शिवराज भट्ट विजयी भएका छन् । उनले १७ हजार १ सय ५२ मत ल्याई निर्वाचित हुँदा एमालेका लीलाधर भट्टले १६ हजार ७ सय १६ मत प्राप्त गरे ।


Author

थप समाचार
x