राजनीति

नवलपरासी (पश्चिम)मा एमाले 'निल'

इकागज |
मंसिर ९, २०७९ शुक्रबार १८:५३ बजे

बुटवल । निर्वाचन क्षेत्र नं.१ मा नेपाली कांग्रेसले ‘क्लिन स्वीप’ पारेको छ । प्रतिनिधिसभा सदस्यमा विनोद चौधरीसहित दुई प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारले बाजी मारेका हुन् ।

नेकपा (एमाले) को समर्थनमा उठेका जनता प्रगतिशील पार्टी (जप्रपा) का हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतान्तरले पराजित गर्दै चौधरी विजयी भए । चौधरीले २९ हजार ४ सय ९५ मत ल्याउँदा त्रिपाठीले २२ हजार ३ सय ८ मत पाए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी १२ हजार ४ सय ९९ मत ल्याए ।


त्यस्तै क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई १५ हजार ३ सय ६५ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रधान विजयी भएका हुन्। प्रधानले ३४ हजार ९ सय ५९ मत प्राप्त गर्दा कँडेलले १९ हजार ५ सय ९४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएपछि राजनीतिमा सक्रिय प्रधान तेस्रो पटकको प्रयासमा सफल भएका हुन् । क्षेत्र नम्बर २ को क मा स्वतन्त्र का खड्ग बस्नेत र २ ख मा नेपाली कांग्रेसका बैजनाथ कलवार प्रदेशसभामा विजयी भएका छन् ।

त्यस्तै, प्रदेशसभा ‘१’ मा नेपाली कांग्रेसका विश्वप्रेम पाठकले एमालेका पूण्यप्रसाद पौडेललाई २ हजार १ सय २० मतान्तरले पराजित गरे । पाठकले १५ हजार ४ सय ३६ मत ल्याउनु हुँदा पौडेलले १३ हजार ३१६ मत पाए । राप्रपाका नवनित कुमार मिश्रले ५ हजार ४४१ मत ल्याएर तेस्रो भए ।

त्यसैगरी, प्रदेशसभा ‘२’ मा नेपाली कांग्रेसका देवकरण कलवारले जनमत पार्टीका असरफ अलि चुरिहारलाई २ हजार १ सय ९८ मतको अन्तरले पराजित गर्दै विजयी भए । कलवारले ११ हजार २ सय ८४ ल्याएर विजयी हुँदा चुरिहारले ९ हजार ८६ मत ल्याएर पराजित भए । तेस्रोमा एमालेका दीपकराज शर्माले ७ हजार ५ सय ७८ मत पाए । कुल मतदाता १ लाख १८ हजार २ सय ५० मतदाता रहेको क्षेत्रमा ८४ हजार ३ सय २३ मत खसेको थियो ।


Author

थप समाचार
x