राजनीति

जितपछिको विजयी जुलुसमा प्रेम सुवालले भने : मन्त्रीहरू नै भारतसँग मल किनेर कमिसन खान्छन्

इकागज |
मंसिर १०, २०७९ शनिबार १८:२१ बजे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिन सक्ने कानुन निर्माण गर्न आफूले संसद्‍मा आवाज उठाउने बताएका छन् ।

शनिबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राेजगारी सिर्जना गर्ने कानुन निर्माणमा रहने बताएका हुन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानुन निर्माणमा आफू हरक्षण माग गरिरहने जिकिर गरे ।


देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने उनकाे भनाइ छ । सुवालले सरकारका मन्त्रीहरू नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाए । उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानुन बनाउन आवाज उठाउने पनि बताए ।

नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । सुवालले ४२ हजार ७१६ मत ल्याएका थए भने प्रतिष्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याएका थिए ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को २ मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भएका छन् भने १ को १ बाट भने नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी भए । 


Author

थप समाचार
x