राजनीति

राष्ट्रिय पार्टीको मान्यता पाउने दललाई के फाइदा हुन्छ ?

कमल विष्ट |
मंसिर ११, २०७९ आइतबार १५:५४ बजे

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा सहभागी ४८ दलमध्ये कति दल राष्ट्रिय पार्टी बन्लान् भन्ने विषयप्रति अहिले धेरैको चासो छ । योसँगै एउटा अर्को चासो पनि थुप्रैको छ– राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दललाई के फाइदा हुन्छ ? 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार राष्ट्रिय दल बन्न कम्तीमा प्रत्यक्षतर्फ एक सिट जित्नुपर्ने र समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत मत पाउनुपर्ने प्रावधान छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो आँकडा हेर्दा ४८ मध्ये नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी पाँच वटा दल राष्ट्रिय पार्टी बन्ने निश्चित देखिन्छ । 


यस्तै, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरू राष्ट्रिय पार्टी बन्ने दौडमा छन् । तर, उनीहरूले पाएको मत दरलाई हेर्दा यी दलहरूले राष्ट्रिय दलको मान्यता पाउने या नपाउने भन्ने चाहिँ अन्योल नै छ । 

राष्ट्रिय पार्टीको सूचीमा सूचीकृत भइसकेका र हुन रस्साकस्सी गरिरहेका दललाई आखिरमा के फाइदा हुन्छ ? 

पहिलो त, राष्ट्रिय मान्यता प्राप्त पार्टी भएसँगै समानुपातिक सांसद मिल्नेछ । राष्ट्रिय मान्यता प्राप्त पार्टी बन्न नसकेको खण्डमा समानुपातिक मतबाट सांसद चयन हुन सक्दैनन् । राष्ट्रिय मान्यता प्राप्त नगरेमा तिनको मतको लाभ पनि ठूला दलले नै पाउनेछन् । २०७४ को चुनावमा राष्ट्रिय मान्यता प्राप्त गर्न नसकेका दलले पाएको १०.४४ प्रतिशत समानुपातिक मतको लाभ राष्ट्रिय मान्यता प्राप्त पार्टीले पाएका थिए ।

राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्ने दलले पाउने अर्काे लाभ हो, उनीहरूले संसद्‍मा संसदीय दलको कार्यालय र गाडीसहितको सुविधा पाउनु । ती दलले सांसदकाे संख्याअनुसार खर्च र सुविधा पाउँछन् । यसबाहेक राष्ट्रिय मान्यता प्राप्त नगरेका साना दलका दुईभन्दा बढी सांसद छन् भने कोठा उपलब्ध गराउँदै आएको छ ।

त्यस अतिरिक्त संसद्‍मा स्वतन्त्र सांसदभन्दा राष्ट्रिय पार्टीका सांसदले बढी राजनीतिक महत्व पाउँछन् । अर्काे त, राष्ट्रिय पार्टीले हरेक चुनावमा आफ्नो चुनाव चिह्न कायम राख्न पाउँछन् । राष्ट्रिय पार्टीको मान्यता नपाउने दलले अर्को चुनावमा आफूले पहिला प्रयोग गरेको चुनाव चिह्न नपाउन पनि सक्छन् । यद्यपि आयोगले उनीहरूले प्रयोग गरेको चिह्न उनीहरूलाई नै दिँदै आएको छ । 

राष्ट्रिय पार्टीले संसद्‍मा संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकको पद पाउँछन् । उनीहरूले आकर्षक सुविधा पनि प्राप्त गर्छन् । प्रमुख सचेतक वा सचेतकले राज्यमन्त्री सरहको सुविधा पाउने गर्छन् ।

कूल १ करोड ७९ लाख ८८ हजार ५७० मतदातामध्ये यसपालिको निर्वाचनमा १ करोड ९ लाख ७० हजार बढी मत खसेको छ । जसमा ८९ लाख १ हजार ९९९ मत गनिएको छ । हालसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथौँ, र पाँचौँ स्थानमा छन् ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x