राजनीति

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

इकागज |
मंसिर १३, २०७९ मंगलबार १५:१२ बजे

काठमाडौं- नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको मतगणना सुचारु गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्चाचन भएकाे थियाे । उक्त निर्वाचनकाे स्याङ्जा २ र बाजुराको मतगणना कार्य रोकिएको छ । जसको तत्काल सुचारु गर्न कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको हो । उपसभापति धनराज गुरुङ, नेता रामचन्द्र पौडेलले निर्वाचन आयोगका आयुक्तहरूलाई भेटेर रोकिएको मतगणना पुनः सुरु गर्न ध्यानाकर्षण गराएका हुन् । 


पार्टीको तर्फबाट स्याङ्जा र बाजुराको रोकिएको मतगणना सुरु गर्न आयोगका पाँचैजना आयुक्तलाई भेटेर ध्यानाकर्षण गराएको  उपसभापति गुरुङले जानकारी दिए । 

‘म उम्मेदवार भएर मात्र होइन पार्टीकै तर्फबाट रोकिएको मतगणना सुरु गर्न आयोगका पाँचजना आयुक्तलाई भेटेर ध्यानाकर्षण गराएका छौँ,’ उनले भने । 

मतदाता नामावलीमा भएका व्यक्तिले नै मतदान गरेको र विनाकारण रोकिएको मतगणना सुरु गर्नुपर्ने नेता रामचन्द्र पौडेलको माग छ । 

‘मतदाता नामावलीमा नाम भएकै व्यक्तिले मतदान गरेका छन्,’ उनले भने, ‘मतगणना रोक्नु हुँदैन । यस कारण स्याङ्जा र बाजुराको रोकिएको मतगणना अविलम्ब सुरु गर्नुपर्छ । हामीले आयोगको ध्यानाकर्षण गराएका छौँ ।’ 

स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङ र एमालेकी पद्मा आर्यालयबीच कडा प्रतिस्पर्धा छ भने बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ ।


Author

थप समाचार
x