राजनीति

मधेश प्रदेशमा ४० नयाँ अनुहारले पाए अवसर

३ बहाल, १ राज्य र ३ पूर्वसहित ७ मन्त्री पराजित, २३ सदस्य दोहाेरिए

सुभाष कर्ण |
मंसिर १३, २०७९ मंगलबार २०:१२ बजे

जनकपुर- मंसिर ४ गते सम्पन्न निर्वाचनमा मधेश प्रदेश सभामा ३ मन्त्री, १ राज्यमन्त्री र ३ पूर्वमन्त्रीसहित ७ जना मन्त्रीहरू पराजित भएका छन् । निर्वाचनमा ५३ जनाले उम्मेदवारी दिएकामा २३ जना मात्रै पुराना दोहाेरिएका छन् भने ४० जना नयाँ अनुहारले अवसर पाएका छन् ।

प्रदेश सरकार अर्थ मन्त्री शैलेन्द्र साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र राज्य मन्त्री योगेन्द्र राय यादव, पूर्वमन्त्रीहरू रामनरेश राय, ज्ञानेन्द्र यादव, सुरेश मण्डल र मुख्य न्यायधिवक्ता दिपेन्द्र झालगायत पराजित भएका छन् ।


सप्तरी २ (१) बाट अर्थमन्त्री शैलेन्द्र साह जनमतका सतिशकुमार सिंहसँग ८ हजारभन्दा बढी मतले पराजित भएका छन् भने कृषि मन्त्री विजय यादव सिरहा २ (१) बाट जनमतकै संजयकुमार यादवसँग र उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो धनुषा ४ (२) बाट एमाले नेता एवं मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोसँग पराजित भएका छन् ।

रौतहट १ (२) बाट लडेका राज्यमन्त्री योगेन्द्र राय यादवलाई करिब ७ हजार मतान्तरले कांग्रेसका कृष्णप्रसाद यादवले पराजित गरेका छन् । उनले ५ हजार ७२९ मत ल्याई तेश्रो स्थान पाएका छन् । त्यहाँ स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरी ११ हजार ४ सय मत ल्याई प्रतिष्पर्धी बनेका छन् ।

पूर्वमन्त्री रामनरेश यादव गठबन्धनका कारण जसपाबाट टिकट नपाएपछि सर्लाही २ (१) बाट स्वतन्त्रमा उम्मेदवारी दिएर कांग्रेसका जंगीलाल रायसँग पराजित भएका छन् । उनले २ हजार ५४६ मत ल्याई छैठौं स्थान पाएका छन् । सो क्षेत्रमा ८ हजार २९० मत ल्याई निर्वाचित भएका हुन् ।

पूर्वमन्त्रीहरूमा धनुषा ४ (१) बाट ज्ञानेन्द्र यादव कांग्रेसका शेषनारायण यादवसँग पराजित भएका छन् भने सिरहा ४ (२) मा लोसपाका रामबाबु यादवसँग हारेका छन् । यस्तै लोसपाका प्रमुख सचेतक परमेश्वर साह धनुषा ३ (२) मा एमालेका दिपेन्द्र ठाकुरसँग र जसपाका प्रमुख सचेतक शैलेन्द्र यादव एमालेका लखन दाससँग हारेका छन् ।

दोश्रो कार्यकालका लागि मन्त्रीहरूमा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, कानुन मन्त्री प्रमोद यादव, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह, पूर्वमन्त्रीहरू जितेन्द्र सोनल, अभिराम शर्मा, सरोज सिंह कुशवाहासहित दोहाेरिएका छन् भने सामाजिक विकास मन्त्री नवलकिशोर साह प्रतिनिधि सभामा अवसर पाएका छन् ।

प्रदेश सभामा यसपटक प्रत्यक्षतर्फ ४० नयाँ अनुहार थपिएका छन् । अघिल्लो निर्वाचनमा निर्वाचित २३ जना सांसद यसपटक पुनःदोहोरिएका हुन् । मधेस प्रदेशको ६४ निर्वाचन क्षेत्रमध्ये धनुषा–४ को (ख) बाहेक अहिलेसम्म ६३ वटाको नतिजा आइसकेको छ । धनुषा ४ (२) को मतगणना जारी रहेको छ ।

त्यहाँ एमालेका उम्मेदवार हरिनारायण यादव अग्रता लिएको छ भने प्रतिष्पर्धीमा उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो रहेका छन् । यादव मिथिला नगरपालिकाका निवर्तमान मेयर हुन् ।

दोहाेरिने प्रदेश सभा सदस्यहरूमा सप्तरी ४ (क) बाट नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने, सिरहा ३ (ख) बाट नेकपा एसका प्रमोदकुमार यादव, धनुषा १ (ख) बाट नेकपा एमालेका रामचन्द्र मण्डल, धनुषा २ (ख) बाट जसपाका रामअशिष यादव, धनुषा ३ (क) बाट नेपाली कांग्रेसका रामसरोज यादव, महोत्तरी १ (क) बाट नेकपा एमालेकी शारदा थापा, महोत्तरी १ (ख) बाट नेकपा माओवादी केन्द्रका भरतप्रसाद साह, महोत्तरी २ (क) बाट लोसपाका जयनुल राइन, महोत्तरी २ (ख) बाट स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साहलगायत छन् ।

महोत्तरी ३ (क) बाट लोसपाका अभिराम शर्मा, महोत्तरी ३ (ख) बाट लोसपाकी रानीकुमारी तिवारी, महोत्तरी ४ (ख) बाट जसपाका सरोजकुमार सिंह, सर्लाही १ (क) बाट लोसपाका उपेन्द्र महतो, सर्लाही १ (ख) बाट नेकपा एसकी बेची लुंगेली, सर्लाही ३ (ख) बाट जसपाका संजयकुमार यादव, सर्लाही ४ (क) बाट कांग्रेसका बीरेन्द्रकुमार सिंह, रौतहट ४ (ख) बाट जसपाका शेख अबुकलाम अजाद, बारा १ (ख) बाट जसपाका सरोजकुमार यादव, बारा २ (ख) बाट जसपाका बच्चा राउत अहिर, बारा ४ (ख) बाट लोसपाका जितेन्द्र सोनल, पर्सा १ (ख) बाट जसपाका लालबाबु राउत, पर्सा २ (ख) बाट लोसपाका रमेशप्रसाद कुर्मी र पर्सा ४ (ख) बाट जसपाका सिंगासन साह कलवार पनि रहेका छन् ।

प्रदेश सभा सदस्यमा निर्वाचित भएको नयाँ अनुहारमा सप्तरी १ (क) बाट नेकपा एमालेका राजकुमार लेखी, सप्तरी १ (ख) बाट जनमत पार्टीका सकिय मिया, सप्तरी २ (क) बाट जनमतका सतिशकुमार सिंह, सप्तरी २ (ख) बाट जनमतका महेशप्रसाद यादव, सप्तरी ३ (क) बाट नेपाली कांग्रेसका मोहम्मद समीम, सप्तरी ३ (ख) बाट जनमत पार्टीका शम्भुकुमार साह, सप्तरी ४ (ख) बाट स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह, सिरहा १ (क) बाट एमालेका राजेन्द्रप्रसाद चौधरी, सिरहा १ (ख) बाट जसपाका राजकुमार गुप्ता, सिरहा २ (क) बाट जनमतका सञ्जयकुमार यादव, सिरहा २ (ख) बाट एमालेका शत्रुधनप्रसाद सिंह, सिरहा ३ (क) बाट एमालेका मनोजकुमार सिंहलगायत छन् ।

त्यस्तै सिरहा ४ (क) बाट जनमतका त्रिभुवन साह, सिरहा ४ (ख) बाट लोसपाका रामबाबु यादव, धनुषा १ (क) बाट कांग्रेसका संजयकुमार महतो, धनुषा २ (क) बाट एमालेका लखन दास, धनुषा ३ (ख) बाट एमालेका दिपेन्द्रकुमार ठाकुर, धनुषा ४ (क) बाट कांग्रेसका शेषनारायण यादव, महोत्तरी ४ (क) बाट एमालेका सरोजकुमार यादव, सर्लाही २ (क) बाट कांग्रेसका जंगीलाल राय, सर्लाही २ (ख) बाट कांग्रेसका कौशल किशोर राय, सर्लाही ३ (क) बाट स्वतन्त्र उम्मेदवार जवाहर लाल कुशवाहा, सर्लाही ४ (ख) बाट माओवादी केन्द्रका फकिरा महतो, रौतहट १ (क) बाट कांग्रेसका नागेन्द्र साह, रौतहट १ (ख) बाट कांग्रेसका कृष्णप्रसाद यादव र रौतहट २ (क) बाट एमालेका मो. जैद आलम पनि प्रदेश सभामा अवसर पाएका छन् ।

रौतहट २ (ख) बाट नेकपा एसका कनिष पटेल, रौतहट ३ (क) बाट स्वतन्त्र उम्मेदवार केशव राय, रौतहट ३ (ख) बाट कांग्रेसका सुनिलकुमार यादव, रौतहट ४ (क) बाट माओवादी केन्द्रका युवराज भट्टराई, बारा १ (क) बाट एमालेका त्रिलोकीप्रसाद, बारा २ (क) बाट स्वतन्त्र उम्मेदवार शारदा शंकरप्रसाद कलवार, बारा ३ (क) बाट एमालेका रविन्द्र दास श्रेष्ठ, बारा ३ (ख) बाट एमालेका महम्मद समीर, बारा ४ (क) बाट एमालेका देवनारायण थारु, पर्सा १ (क) बाट माओवादी केन्द्रका रहबर अंसारी, पर्सा २ (क) बाट कांग्रेसका श्यामप्रसाद पटेल, पर्सा ३ (क) बाट स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल, पर्सा ३ (ख) बाट कांग्रेसका जनार्दन सिंह क्षेत्री र पर्सा ४ (क) बाट कांग्रेसका शंकरप्रसाद चौधरी नयाँ अनुहारले प्रदेश सभामा निर्वाचित भएका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x