राजनीति

यस्तो छ सम्भावना

एमाले-माओवादीविनै पनि बन्‍न सक्छ बहुमतको सरकार !

इकागज |
मंसिर १८, २०७९ आइतबार १३:२० बजे

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । नतिजा अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भएको छ । निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएकोले गठबन्धन सरकार बन्ने निश्चित छ  । दलका नेताहरू आन्तरिक तथा द्विपक्षीय औपचारिक/अनौपचारिक छलफलमा छन् । 

शनिबार बसेको माओवादी केन्द्र सचिवालय बैठकले सरकार गठनमा सबै विकल्प खुला राख्ने निर्णय गरिसकेको छ । वाम एकता, वाम पक्षधरको सरकार बनाउनुपर्ने आवाज पनि उठिरहेका बेला वामइतर समूहलाई पनि सरकार गठनमा बहुमत पुग्ने देखिएको छ । 


२७५ सदस्यीय प्रतिनिधिसभामा नयाँ सरकार बनाउन साधारण बहुमतका लागि १३८ जना सांसदको समर्थन चाहिन्छ । जुन संख्या कम्युनिस्टइतर समूहसँग पुग्ने देखिन्छ । औपचारिक रूपमा निर्वाचनको सबै परिणाम सार्वजनिक गरिसकेको छैन । तर कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने निश्चितजस्तै छ ।

प्रत्यक्षतर्फको १६५ मध्ये १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकततर्फ पनि कुन दलले कति सिट पाउनेछन् भन्ने अनुमान लगाउन सकिने अवस्था छ । तर, हालसम्मको विवरणअनुसार नै कम्युनिस्टइतर समूहललाई सरकार बनाउन बहुमत पुग्ने देखिएको हो । 

५७ सिट प्रत्यक्षमा जितेको कांग्रेसले समानुपातिकबाट ३२ सिट पाउने देखिन्छ । जनअनुसार कांग्रेसको ८९ हुनेछ । कांग्रेसकै नेता अमेरशकुमार सिंह स्वतन्त्रबाट निर्वाचित भएका छन् । उनको समेत जोड्दा ९० सांसद पुग्छ । 

प्रत्यक्षमा सात सिट जितेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १४ सिट पाउने देखिन्छ । उसको जम्मा २१ जना सांसद हुन्छन् । रास्वाले पनि कांग्रेसलाई साथ दिएको अवस्थामा अब उसलाई सरकार बनाउन थप २७ सांसद् चाहिन्छ ।

सात सिट जितेको राप्रपाले समानुपातिकमा सात सिट नै पाउँदा १४ जना सांसद हुन्छन् । राप्रपा पनि गैरकम्युनिस्ट पार्टी भएकोले कांग्रेसलाई साथ दिँदा थप १३ सांसद चाहिन्छ । निर्वाचनमा राप्रपाले एमालेसँग तालमेल गरेकाे थियाे । राप्रपा वामपन्थी पार्टी हाेइन ।

एक सिट प्रत्यक्षमा जितेको सिके राउत नेतृत्वकाे जनमत पार्टीले समानुपातिकमा चार सिट पाउनेछ । उसका पाँच सांसद प्रतिनिधिसभामा रहनेछन् ।  

यसैगरी प्रत्यक्षमा तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीसँग एक स्वतन्त्र सांसद छन् । रेशम चाैधरीका बाबु लालवीर चाैधरी स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हुन् ।

तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्ने अवस्थामा रहेको महन्थ ठाकुर नेतृत्वकाे लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सिट जितेको छ । 

यसरी हेर्दा कम्युनिस्टइतर गठबन्धनको पनि सरकार बन्न सक्ने अवस्था देखिन्छ ।


Author

थप समाचार
x