राजनीति

सुदूरपश्चिममा प्रदेश सभातर्फ एक सय ११ जनाको जमानत जफत

इकागज |
मंसिर २३, २०७९ शुक्रवार १४:२७ बजे

महेन्द्रनगर- सुदूरपश्चिम प्रदेशसभा सदस्यमा ३२ सिटका लागि भएको निर्वाचनमा एक सय ११ जना उम्मेदवारको जमानत जफत भएको छ । कूल सदर मतको दश प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले बताए । 

सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक वाम–गठबन्धन, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टीका साथै स्वतन्त्र उम्मेदवार प्रदेशसभा सदस्यका लागि उम्मेदवार थिए । 


सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार प्रदेशसभा सदस्यका ८२ जना उम्मेदवारको भने जमानत जफत हुनबाट जोगिएको छ । प्रदेशसभामा एमाले, नेकपा (माओवादी केन्द्र)लगायत प्रमुख राजनीतिक दलका उम्मेदवारको समेत जमानत जफत भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

यहाँ प्रदेशसभा प्रत्यक्षतर्फ डडेलधुरा प्रदेशसभा २ मा एमालेका गजेन्द्रबहादुर शाही जमानत जफत भएको छ । कूल २४ हजार पाँच सय २८ मत सदर मतमध्ये शाहीले एक हजार ३५ मत मात्रै प्राप्त गरेको निर्वाचन कार्यालय धनगढीले जानकारी दिएको छ ।

जमानत जफत हुने धेरै उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायतका उम्मेदवार छन् । जमानत जफत हुनेमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीदेखि बाजुराका राष्ट्रिय प्रजातन्त्र पार्टीका हिक्मतबहादुर शाहीसम्म छन् ।

बाजुरा प्रदेशसभा १ मा माओवादी केन्द्रका कर्णबहादुर विश्वकर्माको पनि जमानत जफत भएको छ । विश्वकर्माले कूल सदर मत २० हजार सात सय तीनमध्ये जम्मा एक हजार ९८ मत मात्रै प्राप्त गरेका छन् । 

सुदूरपश्चिमअन्तर्गत प्रदेशसभाका कूल एक सय ९३ उम्मेदवारमध्ये कैलाली निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार चक्रबहादुर चौधरीले सबैभन्दा कम १३ मत प्राप्त गरेका छन् । कूल २८ हजार दुई सय छ मत सदर भएकामा चौधरीले सबैभन्दा कम मत प्राप्त गरेका थिए । 

प्रदेशसभा सदस्यमा सबैभन्दा बढी नेपाली कांग्रेसले १२ सिट, माओवादी केन्द्रले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एमालेले तीन, नेकपा (एकीकृत समाजवादी)ले तीन र एक जना स्वतन्त्र १ ले निर्वाचनमा जित हासिल गरेका छन् ।

समानुपातिकमा २१ मध्ये १८ जना महिला प्रतिनिधित्व हुने 

प्रदेशसभामा प्रत्यक्षतर्फ कुनै पनि महिला उम्मेदवार निर्वाचित नभएकाले राजनीतिक दलले समानुपातिक प्रणालीअन्तर्गत २१ जनामध्ये १८ जना महिला छनोट गर्नुपर्ने भएको छ । प्रदेशसभामा एक तिहाइ महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार १८ जना महिला निर्वाचित गराउनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेसले १८ सिट जित्दै पहिलो दल बनेको छ भने प्रत्यक्षतर्फ आठ सिट र समानुपातिकतर्फ तीन गरी ११ सिटसहित माओवादी केन्द्र दोस्रो ठूलो दल बनेको छ ।

चार जना पुनःनिर्वाचित

सुदूरपश्चिम प्रदेशसभामा चार जना प्रदेशसभा सदस्यमा दोहोरिएर निर्वाचिन भएका छन् । पुनःनिर्वाचित हुनेमा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ बाट आर्थिक मामिलामन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का प्रकाश रावल र कैलाली ४ प्रदेशसभा १ बाट प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)दीर्घबहादुर सोडारी छन् । 

त्यसैगरी दार्चुला प्रदेशसभा २ बाट उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री एवं माओवादी केन्द्रका नेता मानबहादुर धामी र अछाम २ प्रदेशसभा १ बाट माओवादी केन्द्रका अक्कलबहादुर रावल प्रदेशसभामा दोस्रो पटक निर्वाचित भएका छन् ।


Author

थप समाचार
x