राजनीति

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर

इकागज |
मंसिर २६, २०७९ सोमवार १८:११ बजे

काठमाडौँ- निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताएको छ ।

सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कूल खसेको मतको ५.०६ प्रतिशत मत बदर भएको बताएका हुन् । उनले प्रदेश सभाको समानुपातिक तर्फको मत सबैभन्दा बढी बदर भएको उल्लेख गरे । उनले प्रदेश सभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६.५५ प्रतिशत मत बदर भएको जानकारी दिए ।


त्यस्तै सबैभन्दा कम प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको उनले उल्लेख गरे । प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको बदर मत प्रतिशत ४.०७ प्रतिशत रहेको उनले बताए । त्यस्तै सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा मत बदर भएको उनले जानकारी दिए । उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ हेर्दा सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको छ भने सबैभन्दा कम वागमती प्रदेशमा ४.१६ प्रतिशत मत बदर भएको छ ।

आयोगका उपसचिव भट्टराईका अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ । त्यस्तै प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४.०७ प्रतिशत र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ६.५५ प्रतिशत मत बदर भएको बताए ।

उनले समग्र ६१.४१ प्रतिशत मतदान भएको जानकारी दिए । सबैभन्दा बढी मधेस प्रदेशमा ६५.७७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५७.८० प्रतिशत मतदान भएको उनको भनाइ छ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ ६१.४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाइ छ ।

त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फ ६१.३५ प्रतिशत, प्रदेश सभाको प्रत्यक्षतर्फ ६१.३६ प्रतिशत र प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६१.३१ प्रतिशत मतदान भएको आयोगका उपसचिव कमल भट्टराईले बताए । 


Author

थप समाचार
x