राजनीति

पचास नपुग्दै दलको नेता भएपछि देउवा- दोस्रो पुस्तालाई मौका दिएकामा धन्यवाद !

उपेन्द्र अर्याल |
पुस ५, २०७९ मंगलबार १७:६ बजे

काठमाडौं– शेरबहादुर देउवा, जो २८ वर्षदेखि कांग्रेस राजनीतिमा संसदीय नेता वा नेताका निम्ति प्रतिस्पर्धारत छन् । उनको प्रतिस्पर्धामा बिर्काे लाग्ने छाँटकाँट कहिल्यै देखिएन । कुनै बेला, उनै देउवाले राजनीतिमा ‘पुस्तान्तरण’को भाका उरालेका थिए, ‘आफ्नै निम्ति ।’ त्यतिखेर त्यही भाका उनीतिर फर्किएको छ, तर, उनलाई त्यस्तो भाकाले छुँदैन, निरन्तर प्रतिस्पर्धारत छन् ।

सत्ता–राजनीतिको विडम्बना नै भन्नुपर्छ, स्वयं देउवा असी वर्ष टेक्ने तर्खरमा पुग्दा सहज पुस्तान्तरणको पक्षमा देखिँदैनन् । दोस्रो भन्ने या तेस्रो पुस्ताका नेता गगन थापासँग प्रतिस्पर्धा गर्न उद्यत छन् ।


राजनीतिक इतिहासका पाना पल्टाउने हो भने पार्टी र संसद्को नेतृत्व हस्तान्तरण या पुस्तान्तरण निम्ति बढी वकालत गर्ने पात्रमध्येका एक हुन्, देउवा । गिरिजाप्रसाद कोइराला पार्टी र संसद्मा हाबी हुँदा ‘अभिभावक’को भूमिकामा सीमित हुनुपर्ने र आफूहरूलाई नेतृत्व दिनुपर्ने राजनीति निरन्तर राखेका थिए, उनै देउवाले । त्यही ‘राजनीतिक मूल्य–मान्यता वा आदर्श’मा रहेको या भएको भए, गगन थापासँग देउवाले कदापि प्रतिस्पर्धा गर्ने थिएनन् । अनि गगन थापाले देउवासँग प्रतिस्पर्धा गर्नुपर्ने थिएन ।

पुस्तान्तरण हुँदा देउवाको त्यो खुसी

२८ वर्षअघि अर्थात् २०५१ मंसिर १६ मा पहिलो चोटि संसदीय दलको नेतामा निर्विरोध हुँदा देउवा औधी खुसीमा थिए । त्यो दिन देउवा भन्दै थिए, ‘पार्टीमा दोस्रो पुस्तालाई मौका दिएकामा धन्यवाद पनि ।’ जतिखेर देउवा ४८ वर्षका थिए ।

हुन पनि त्यतिखेर पचास वर्षका उमेर टेक्दै गरेका र पार गरेकाहरू अर्थात् ‘हाराहारी उमेर’ समूहका नेताहरू नेताका आकांक्षी थिए । जसमा देउवा एक्लो आकांक्षी थिएनन्, उनीसँग प्रतिस्पर्धा गर्न कांग्रेसभित्र आठ आकांक्षी थिए । ती आठ जनाले ‘अनेकन् कारण’ले नाम फिर्ता लिएपछि देउवा सर्वसम्मत भएका हुन् ।

चुनावी प्रतिस्पर्धा हुँदा ‘मनोमालिन्य’ बढ्ने गरी उल्लेख नाम फिर्ता लिएपछि देउवा सर्वसम्मत नेता भएका हुन् । एमालेले अल्पमतको सरकार बनाइसकेको हुँदा तत्कालै प्रधानमन्त्री सम्भावना नरहेको पृष्ठभूमिले पनि देउवालाई ‘सर्वसम्मत नेता’ स्वीकारेका हुन् । नत्र दोस्रो पु्स्ताका भनिएकाहरू शैलजा आचार्य, रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, गोविन्दराज जोशी, चिरञ्जिवी वाग्ले, ढुण्डिराज शास्त्रीको पनि नेता बन्ने चाहना थियो ।

कतिपयले स्वेच्छाले नाम फिर्ता लिएका थिए भने कतिपयले नेताका ‘आदेश’मा । आकांक्षीमध्येका एक पौडेलले सभामुख बन्ने अवसर पाएका थिए । देउवाको उदयसँगै कांग्रेसको नेतृत्व स्वतः दोस्रो पुस्तामा हस्तान्तरण टीकाटिप्पणी बढ्यो । धेरैलाई लागेको थियो कि अब कांग्रेसमा ‘कोइराला–भट्टराई युग’को अन्त्य भयो । कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह त मध्यावधि चुनावअगावै ‘पाखा’ लागिसकेका थिए नै ।

कालक्रमले एमालेको अल्पमत सरकार ढल्यो । कांग्रेस संसदीय दलको नेताका हैसियतमा देउवा २०५२ भदौ २६ का दिन सहजै प्रधानमन्त्री भए । तर, उनको पद कांग्रेसकै ‘भूमिगत खेल’का कारण २०५३ फागुनमा ढल्यो । त्यसपछि देउवालाई घोषित महत्वपूर्ण पद (कार्यवाहक सभापति)को लोभ देखाउँदै गिरिजाप्रसाद कोइराला नै संसदीय दलको नेतामा फर्किए । तर, देउवाले पाएको त्यो ‘महत्वपूर्ण पद’को पर्दा खुलेन । 

२०५६ मा कृष्णप्रसाद भट्टराईकै नाममा कांग्रेसले मत मागेपछि सहजै उनै दलका नेता बने, प्रतिस्पर्धाबेगर । तर, गिरिजाप्रसाद कोइराला समूहले प्रधानमन्त्रीमा टिक्न नदिएपछि २०५६ चैतमा कृष्णप्रसाद भट्टराईले राजीनामा दिए । उक्त राजीनामासँगै गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवा भिड्न पुगेका थिए, पुस्तान्तरणको अभियानसहित । संसदीय दलको नेतामा प्रतिस्पर्धामा हुँदा कोइरालाले ६९ मत पाएका थिए भने देउवाले सम्माजनक ४३ मत ।

संसदीय दल नेताका निम्ति दोस्रो पुस्ताकै नेता शेरबहादुर देउवा र सुशील कोइरालाबीच प्रतिस्पर्धा चल्यो, २०५८ साउनमा । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि देउवा र सुशील कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । उक्त चुनावमा कांग्रेसका प्रतिनिधि सभाका ११३ मध्ये देउवाले ७२ पाएका थिए भने प्रतिद्वन्द्वी ४० मत । उक्त प्रतिस्पर्धामा एक मत तटस्थ रह्यो ।

विभाजन–एकीकरणपछि पनि निरन्तर रहर

२०५९ असारमा कांग्रेस विभाजन गर्दै देउवाले कांग्रेस (प्रजातान्त्रिक) बनाए । २०६४ एकीकरण गरेपछि उनी मूलधारको राजनीतिमा अलि कमजोर देखिएका थिए । २०६४ चैत २८ मा संविधानसभाको निर्वाचनसँगै कांग्रेस खुम्चियो । अनौठो त कांग्रेसले अस्वाभाविक हार बेहोरेसँगै संसदीय नेताको चुनाव गर्ने उत्साह समेत देखाएन । बल्लबल्ल चौध महिनापछि २०६५ असार ६ गते मात्रै संसदीय दलको चुनाव भयो । उक्त प्रतिस्पर्धा देउवा र रामचन्द्र पौडेलबीच चल्यो । उक्त प्रतिस्पर्धामा गिरिजाप्रसाद कोइरालाको खुला समर्थन कतैतिर रहेन । यद्यपि कोइराला नजिकका पात्रहरूको सहयोग चाहिँ पौडेललाई नै रह्यो । पौडेलले ६१ मत पाए, देउवा ४९ मतमा सीमित रहेका थिए ।

संसदीय दलका नेताको प्रतिस्पर्धामा देउवा कहिल्यै पछि हट्दैनन् । त्यसपछि संविधानसभाको दोस्रो चुनावपछि संसदीय दलको नेताको प्रतिस्पर्धा हुँदा देउवा पार्टी सभापति सुशील कोइरालासँग प्रतिस्पर्धा गर्न पुगे । त्यसमा पनि देउवाले पराजय बेहोरेका थिए, जित चाहिँ कोइरालाको पक्षमा पुगेको थियो । २०७० माघ १२ मा दलमा कोइरालासँगको प्रतिस्पर्धामा देउवाले १६ मतको अन्तरमा पराजित भए । कांग्रेस संसदीय दलमा १९४ सदस्य थिए, जसमा कोइरालाले १ सय ५ मत पाए भने देउवाले ८९ मत ।

२०७४ को चुनावपछि संसदीय दलको नेतामा देउवा र प्रकाशमान सिंह प्रतिस्पर्धामा चल्यो । तर, सिंहले देउवा–सत्ता उल्टाउन सकेनन् । २०७४ फागुन २१ मा मतदान हुँदा देउवाले ४४ मत र सिंहले १९ मभत पाएका थिए । 

अर्थात् २०५१ पछि दुई पटकबाहेक देउवा निरन्तर दलको नेताको प्रतिस्पर्धामा छन्, कहिले जित त कहिले पराजय बेहोर्दै आएका छन् । २०७९ को संसदीय दलको नेताको प्रतिस्पर्धामा कुनै रोमाञ्चकारी घटना भएन भने अंक–गणितीय हिसाबमा देउवाको जित निश्चित छ । किनभने चुनावी टिकट वितरणमा देउवाकै हात रह्यो भने समानुपातिकतिर त झन् आफ्नै हात जगन्नाथ हुने नै भयो । तैपनि सुनिन्थ्यो, ‘कतै देउवाले आफ्नो त्यो पुस्तान्तरणको मूल्य–मान्यताको कुनै छनक देखाउँछन् कि ?’ 

सम्भवतः जीवन पर्यन्त पुस्तान्तरणको मर्ममा देउवा फर्किने अवस्था देखिँदैन ।
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x