राजनीति

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

इकागज |
पुस १२, २०७९ मगलवार १८:१८ बजे

पोखरा- गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ गराउने तयारी छ । अघिल्लो दिन पुस १३ मा प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ खाने छन् । उनलाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा शपथ गराउने कार्यक्रम रहेकाे छ ।


नेपालको संविधानको धारा १८२(५) र प्रदेश सभा निर्वाचन ऐन, २०७४ को दफा ७५(१) बमोजिम प्रदेश प्रमुखले निर्वाचित प्रदेश सभाका ज्येष्ठ सदस्यलाई शपथ गराउने प्रावधान छ । बस्यालको शपथपछि उनले प्रदेश सभा भवन नदीपुरमा अन्य ५९ नवनिर्वाचित सांसदलाई शपथ खुवाउने तयारी छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी कांग्रेस हो । जसमा २७ सिट कांग्रेस, २२ सिट एमाले, ८ सिट माओवादी, २ सिट राप्रपा र १ सिट एकीकृत समाजवादीको छ । मनाङबाट स्वतन्त्र रूपमा निर्विरोध राजीव गुरुङ (दीपक मनाङे) पछि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।


Author

थप समाचार
x