राजनीति

क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छ : राष्ट्रपति भण्डारी

इकागज |
पुस ३०, २०७९ शनिबार १७:३९ बजे

काभ्रेपलाञ्चोक ।  राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताएकी छन् ।    
     
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रम्हाजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रम्हपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने बताइन् । “समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारीको सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल गर्नुपरेको छ, यसका लागि आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नु नै प्रमुख आधार हो”, उनले भनिन् ।    
    
आर्थिक परनिर्भरता घटाई स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कार्यमा पर्यटन क्षेत्रको विकास एउटा मुख्य आधार हुनसक्ने उहाँको धारणा थियो । राष्ट्रपति भण्डारीले कृषि, वनपैदावार र जलविद्युतलाई नेपालकोे आर्थिक विकासको मेरुदण्डका रुपमा लिन सकिने बताइन् । उनले भनिन्, “हामीले प्रकृतिलाई अझ सिंगारेर विकासका कार्य अगाडि बढाउनुपर्छ ।”    
    
राष्ट्रपति भण्डारीले दैनिक क्रियाकलाप र वातावरणमैत्री सामग्रीको प्रयोगसँगै वातावरणमैत्री विकास र जलवायु अनुकूलनका कार्यबाट थप हरियाली प्रवद्र्धन गर्दै मानव र प्रकृतिका बीचमा निरन्तर सन्तुलन कायम राख्नसकिने बताउनुभयो । धार्मिक पर्यटन प्रवद्र्धन गर्न तथा उग्रचण्डी नाला क्षेत्रलाई आध्यात्मिक केन्द्रका रुपमा विकसित गर्न उद्यान निर्माण गरेकामा बधाई दिँदै उनले प्रकृति र संस्कृतिको अतुलनीय सङ्गम बनेको नेपाललाई अनेकन तवरले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सकिने बताइन् ।
  



Author

थप समाचार
x