राजनीति

जलविद्युत् विकासमा सर्वसाधारणको लगानी प्रवर्द्धन गर्न प्रयासरत : मन्त्री लिङ्देन

इकागज |
माघ ११, २०७९ बुधवार ६:२८ बजे

फाइल तस्बिर

काठमाडौँ - उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जलविद्युत् विकासमा सर्वसाधारणको लगानी प्रवर्द्धन गर्न आफू प्रयासरत रहेको बताएका छन् ।

दूधकोसी, माथिल्लो अरुण, बूढीगण्डकीजस्ता आयोजना स्वदेशी लगानीमै निर्माणका लागि सरकारले योजना अघि बढाएको मन्त्री लिङ्देनको भनाइ छ । नेपालको विद्युत् निर्यातका लागि भारत, बङ्गलादेशसहित त्रिदेशीय सम्झौताको तयारी भइरहेको र छिट्टै परिणाम आउने मन्त्री लिङ्देनले उल्लेख गरे । सरकारले विद्युत् खपत बढाउने नीतिसमेत अख्तियार गरेको उनले जानकारी दिए।


नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले मन्त्री लिङ्देनसँग सिंहदरबारमा भेटवार्ता गरेको थियो । मन्त्री लिङ्देनसँग चेम्बरले नेपालको पानी जनताको लगानी भन्ने सरकारी नारालाई व्यवहारिक कार्यान्वयन गर्न आग्रहसमेत गरेको छ । मन्त्री लिङ्देनसँगको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत् क्षेत्रमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत लगानी प्रवर्द्धन गरी स्वदेशमै ऊर्जाको खपत र निर्यातको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले विद्युत् आयोजना निर्माणमा हुने नीतिगत झण्झट अन्त्य एवं प्रसारण लाइन निर्माणलाई पनि तीव्र बनाउनुपर्नेमा जोड दिए । विप्रेषणको पैसालाई विद्युत्मा लगानीका लागि प्रोत्साहन गर्ने गरी नीति बनाउनसमेत अध्यक्ष मल्लले मन्त्री लिङ्देनसमक्ष आग्रह गरे ।

चेम्बरले जलविद्युत्को पीपीए दरमा सहजता, जग्गा प्राप्तिमा हुने झण्झट अन्त्य, इजाजतपत्रको अवधिजस्ता विषयलाई समावेश गरी १३ बुँदे सुझावसमेत ऊर्जामन्त्री लिङ्देनलाई दिएको छ ।
 


Author

थप समाचार
x