राजनीति

सभामुखको कार्यालय 'हाइज्याक' भयो : वरिष्ठ अधिवक्ता त्रिपाठी

इकागज |
माघ १४, २०७९ शनिबार १९:५५ बजे

फाइल तस्बिर

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारमा सहभागी हुनबाट रोक्न हेतु नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली कांग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको उल्लेख गरे ।


नेकपा एमाले र सरकार सभामुखसँग चाँडोभन्दा चाँडो कांग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाइएको उनकाे भनाइ छ । उनले संसद्लाई राष्ट्रिय पञ्चायतजस्तो बनाइएको आरोप समेत लगाए ।

संसद्‍मा कुनै पनि प्रतिपक्ष नरहेको जिकिर गर्दै उनले संसद्लाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार भएको आराेप लगाए ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरूसँग नेशन्स बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताए । पार्टीहरू सत्ता र पदका लागि अवसरको खोज्ने काममा नै लागिपरेको उनकाे भनाइ छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भूमिकाले अवसर खोज्ने कुरामा मात्रै पार्टीहरू केन्द्रित भएको पुष्टि गरेको बताए ।

उनले राजनीतिक पार्टीहरू एजेण्डा र विचारविहीन भइसकेको बताउँदै पार्टीहरूलाई दासहरूको कुम्भ भेलाको संज्ञा दिए ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधानले एउटा सेरमोनियल राष्ट्रपतिको परिकल्पना गरेको र संविधानका विद्यार्थीले राष्ट्रपतिसँग कार्यकारी अधिकार नरहने भने पनि पछिल्लो समय कार्यकारी अधिकार सिंहदरबारबाट सरेर शीतलनिवास पुगेको बताए ।  


Author

थप समाचार
x