राजनीति

जनता जीवन-मरणको दोसाँधमा, नेता कुर्सीको घिनलाग्दो खेलमा

विकास थापा |
बैशाख १९, २०७८ आइतबार १८:४१ बजे

दाङको बेलझुन्डीमा रहेको कोरोना विशेष अस्पतालमा तुलसीपुर उपमहानगरपालिकाका–९ का ४८ वर्षीय एक पुरुषको मृत्यु भयो । अस्पतालमा प्राणवायु (अक्सिजन) अभावका कारण ती व्यक्ति मृत्यु वरण गर्न बाध्य भए । उक्त अस्पतालमा उपचाररत अन्य बिरामी पनि अक्सिजन नपाएर छटपटाउन थालेका छन् । 

यतिबेला लुम्बिनी प्रदेशमा कुल जनसंख्याको १.०३ प्रतिशत अर्थात् ४६ हजार १ सय ६२ जना कोरोना भाइरस संक्रमित छन् ।  गत शुक्रबार राति आठ बजेसम्म लुम्बिनीमा ५५६ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या दिनहुँ बढ्दो छ । उपचार नपाएर नागरिकहरू दिनदिनै मरिरहेका छन् ।


अस्पतालमा बेड छैन । अक्सिजन छैन । भेन्टिलेटर छैन । स्वास्थ्यकर्मीहरू आफँै संक्रमित भई भई दिन–रात बिरामीहरूको उपचारमा सकी नसकी लागिपरेका छन् । त्यसमाथि जारी निषेधाज्ञाले कतिपय नागरिक भोकभोकै सडकमा बस्न बाध्य छन् ।

लुम्बिनी प्रदेशमा कोभिड–१९ को दोस्रो लहरले आक्रान्त लुम्बिनीको यी केही प्रतिनिधिमूलक घटना मात्र हुन् । तर लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेललाई आफ्ना नागरिकलाई कसरी कोभिडबाट जोगाउने भन्ने कुनै चिन्ता छैन । छ त केवल कसरी सत्ता टिकाइराख्ने । सत्ता टिकाउने क्रममा उनले कानुनी, गैरकानुनी, नैतिक, अनैतिक सबै हर्कत गरे ।

एमालेको एकल सरकार (संविधानको धारा १६८ (१) बनाउन राजीनामा गरे । प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका प्रदेश प्रमुख धर्मनाथ यादवले तत्काल स्वीकृत गरे । पुनः बहुमत (४१ जना सांसद) रहेको दाबी गर्दै सरकारका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिए । लगत्तै नियुक्ति पनि पाइहाले ।

हिजो जसरी ओलीले संसद् विघटन गर्दा राष्ट्रपतिले तत्काल सदर गरिदिएकी थिइन्, लुम्बिनीका राष्ट्रपतिले पनि त्यही शैली अपनाए । जबकि अविश्वासको प्रस्ताव छल्न राजीनामा गर्ने, बोलाइएको अधिवेशन हठात् अन्त गर्ने, एमालेमा रहेकी सांसद माओवादी केन्द्र प्रवेश गरेपछि अल्पमतमा परेका पोखरेललाई मुख्य मन्त्री बनाउने लगायतका यस्ता राजनीतिक दृश्यले प्रदेश सरकारको औचित्य मात्र होइन संघीयताप्रति जनतामा वितृष्णा पैदा गरेको छ ।

विधिको शासन, नैतिकता भन्ने अब शब्दकोशमा मात्र सीमित हुन पुगेको छ । देशको प्रधानमन्त्री अनैतिक कार्य गर्दै हिँड्ने भएपछि उनका हनुमानहरूले कहाँबाट नैतिकता सिकून् । राजनीतिमा जे पनि हुन्छ भन्ने सोच नै अपराधिक सोच हो । राजनीतिमा नैतिकता चाहिन्छ । तर नैतिकता भएको नेता यो देशले प्राप्त गर्न सकेको छैन ।

हिम्मत भएको भए पोखरेलले अविश्वासको प्रस्ताव सामना गर्न सक्नुपथ्र्याे । जनताले आफूले दिएको मतद्वारा जनप्रतिनिधि छान्छन् । उनीहरूको भावना त्यही जनप्रतिनिधिमार्फत अभिव्यक्त हुन्छ भनिएको हो । 

जब जनताले पोखरेललाई रुचाएका छैनन् भने कानुन र विधि छलेर ‘सेटिङ’ मा सरकार बनाउने र भत्काउने कार्यलाई रुचाइएको छैन । यहाँ सेटिङ किन भन्न खोजिएको हो भने प्रदेश प्रमुख अर्थात् लुम्बिनीका राष्ट्रपति ओलीका मान्छे हुन् । समावेदन गरेर बोलाइएको संसद् अधिवेशन बस्न नपाउँदै कहीँ अन्त्य हुन्छ ? हिजो गण्डकी प्रदेशका मुख्यमन्त्रीले पनि मध्यरातमा अधिवेशन अन्त्य गरेका थिए आफ्नो पद जोगाउन ।

अविश्वास प्रस्ताव पारित नगराउन कोरोना भाइरसको नाटक गरियो । पछि जनमोर्चाका एक सांसद अपहरणमा परे । यस्ता घटनाले जनताका नजरमा यिनीहरू नांगो छन् । आफूलाई महान् क्रान्तिकारी र राजनीतिक नेता भन्नेहरूको नैतिकता पनि छर्लंगै देखियो ।


भ्याक्सिन र अक्सिजन किन्ने पैसा छैन पशुपतिमा जलहरी राख्ने, झापामा भ्यू टावर बनाउने, माडीमा राम मन्दिर बनाउने । त्यो पनि कम्युनिस्ट सरकारले ।


यतिबेला सत्ता होइन, जनताको रोग र भोक ठूलो थियो र छ । केन्द्रमा सरकारले अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भनेर आफ्नो चरम गैरजिम्मेवारी र नालायकीपन देखायो । उता प्रदेश सरकारहरू जसरी हुन्छ सत्ता टिकाइराख्ने फोहोरी खेलमा लागिरहने ? के यिनलाई सत्तामा पु¥याउन, धन–सम्पत्ति थुपार्न, आफ्ना मान्छेलाई सरकारी नियुक्ति दिलाउन यत्रो बलिदानी गरेर सत्तामा पु¥याएका हुन् ? जबकि यी नेता र मन्त्रीहरूले खाने तलब यिनै उपचार नपाएका नागरिकको गाँस काटेर तिरेको तिरो हो । यी नेताहरूले बेइमानीको पनि हद नाघिसकेको लुम्बिनीले देखायो ।

अर्काे नैतिकताको प्रसंग हेरौँ । यिनै पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टी (जसपा) का चार सांसदलाई प्रदेश मन्त्री बनाइयो । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेका व्यक्तिलाई सरकारमा सामेल गर्नु भनेको उनीहरूलाई खरिद गर्नु नै हो ।

हस्ताक्षर गरेर सरकारमा जानु भनेको पनि बेचिनु नै हो । जसले बढी मूल्य दिन्छ उसैसित जाने । लोभले लाभ, लाभले विलाप भनेजस्तै जसपाका ती चार सांसद पद गयो । अनैतिकतामा रहेपछि सबैको हाल यही हुन्छ । ढिलो र चाँडो हो । महन्थ ठाकुरजस्तो उच्च आदर्श र नैतिकता रहेको भनिएको नेताले समेत यी चार सांसदको संरक्षण गर्न खोजे ।

जसको असर जसपा फुटको संघारमा पुगिसकेको छ । समग्रमा कसरी हुन्छ आफू लुँड्याउने, आफ्नो गुटलाई लुँड्याउन लगाउने । फेरि यिनीहरू सरकारमा गएपछि रातदिन जनताकै सेवामा खटिनुपर्ने हो, आदर्श र सैद्धान्तिक रूपमा । त्यो त कल्पनासम्म गर्न सकिन्न । यस्तो महामारीमा समेत यिनीहरूकै लुछाचुँडी हुन्छ भने अरु बेला के अपेक्षा गर्ने ? 

केन्द्रमा केपी ओलीले नै देखाइदिए कि महामारीमा कसरी ब्रह्मलुट गर्ने भनेर । कोभिड–१९ प्रतिरोध गर्न आयातीत स्वास्थ्य सामग्रीमा भएको अर्बाैंको अनियमितता कसरी दबाइयो, जगजाहेर छैन । संसदीय समितिले छानबिन गरी कारबाहीका लागि निर्देशन दिँदासमेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग आँखा चिम्ल्यो । ओली गुटका मन्त्रीहरूले गरेका सबै खतलाई अख्तियारले माफ गर्दै आएको छ । 

उपचार नपाएर नागरिकहरू दिनदिनै मरिरहेका छन् । अस्पतालमा बेड छैन । अक्सिजन छैन । भेन्टिलेटर छैन । स्वास्थ्यकर्मीहरू आफैँ संक्रमित भई भई दिन–रात बिरामीहरूको उपचारमा सकी नसकी लागिपरेका छन् । त्यसमाथि जारी निषेधाज्ञाले कतिपय नागरिक भोकभोकै सडकमा बस्न बाध्य छन् ।

न्तुलन र परीक्षण भन्ने लोकतन्त्रको सैद्धान्तिक पक्ष नेपालको हकमा पूर्ण रूपमा फेल खाएको छ । एकप्रकारले यो ‘सिस्टम कोल्याप्स’ नै हो । सिरियामा आफ्नो पद जोगाउन राष्ट्रपति बसर अल असदले अहिलेसम्म १४ लाख नागरिकको हत्या गरिसकेका छन् ।

आफ्नो पद जोगियो भयो, नागरिक मरुन् कि बाँचून् । यही अवस्था केन्द्र र प्रदेश सरकारमा देखिइसकेको छ । भ्याक्सिन र अक्सिजन किन्ने पैसा छैन, पशुपतिमा जलहरी राख्ने, झापामा भ्यू टावर बनाउने, माडीमा राम मन्दिर बनाउने । त्यो पनि कम्युनिस्ट सरकारले ।

केन्द्र र प्रदेश सरकारहरूमा भएका सदस्यहरू आमनागरिक निम्ति ‘टेस्टेड’ थिए । यिनले गरेका भ्रष्टाचार, कर्तुत सबै जनतालाई थाहा थियो । तैपनि अब त सुध्रिन्छन् कि । यिनीहरुले कमाउनु जति कमाइसके अबचाहिं मुलुकलाई लागि गर्छन् कि भन्ने आशा थियो ।

थाहा पाईपाई यिनीहरुकै लागि जनता आफू सहीद भएका थिए । महाकाली सन्धिजस्तो देश बेच्ने सन्धि गर्ने र गराउने दलहरू पटक–पटक प्रधानमन्त्री हुने, सरकारमा पुग्ने । ठूला ठूला काण्ड मच्चाएकाहरूलाई पुनः सत्तामा पु¥याउने काम पनि हामी जनताले नै गरेका हौं । 

गलत नेता छनौट गर्ने मतदाता आफूले गरेको ‘गल्ती’ आफैँ सजाय भोग्दैछन् । यी नेताहरूका प्रत्येक वाक्य र लवजमा ‘जनता’ भन्ने शब्द छुट्दैन । सधैँ जनता जनता भन्छन् । तर यिनले कस्तो कर्म गरेका थिए । गर्नेछन् भन्ने यो कोभिड–१९ को कहरले देखाइदियो ।

नेताहरू पटक–पटकका परीक्षामा पटक–पटक फेल भएकै थिए र छन् । अब जनता आफै जाग्ने बेला भइसकेको छ । सायद जनताले हिसाब किताब गरेर बसेका पनि होलान् । उनीहरूको त्यो ‘अडिट रिपोर्ट’ अब हुने चुनावमा सार्वजनिक हुने नै छ ।
 


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x