राजनीति

एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न मन्त्री किराँतीकाे निर्देशन

इकागज |
माघ १७, २०७९ मंगलबार १७:० बजे

फाइल तस्बिर

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सफा पशुपति, पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका छन् ।

मंगलबार पशुपति क्षेत्र विकास कोषको अनुगमनका क्रममा विकास कोषका कर्मचारीहरूलाई सफा पशुपति पवित्र पशुपति नारासहित एक महिनाभित्र पशुपति क्षेत्र सफा गर्न निर्देशन दिएका हुन् । उनले पशुपति क्षेत्र असाध्यै फोहोर रहेकाले सबैभन्दा पहिलो प्राथमिकता दिएर पशुपति सफा गर्न आग्रह गरे ।


उनले पशुपति परिसरमा रहेका शौचालय एकदमै फोहोर भएको भन्दै शौचालयको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे । पशुपति क्षेत्र विकास कोषले पशुपति विकासका लागि गर्ने कामको तत्कालीन, अल्पकालीन र दीर्घकालीन क्यालेण्डर बनाउन पनि उनले आग्रह गरे ।

मन्त्री किराँतीले मन्त्रालयले क्यालेण्डर अनुसार काम भए/नभएको आवश्यकता अनुसार अनुगमन गर्ने पनि बताए । उनले पशुपति जस्तो पवित्र स्थानमा बसेर अपवित्र काम गर्नेलाई दण्डित गर्ने चेतावनी समेत दिए । उनले पशुपति जस्तो पवित्र स्थान पाएर पनि नेपालले राम्रोसँग प्रयोग गर्न नसकेको भन्दै  विकास कोषको ज्ञान, क्षमता र संस्कृतिमाथि गम्भिर प्रश्न उठेको बताए ।

पशुपति क्षेत्र विकास कोषले कल्याणकारी कामहरू गर्नसक्ने भन्दै कोषले विश्वविद्यालय, अस्पताल र विद्यालयहरू सञ्चालन गर्नु सामान्य काम भएको उनले उल्लेख गरे । मन्त्री किराँतीले पशुपति जस्तो ठूलो आध्यात्मिक आस्थाको केन्द्रमा बसेर गैर आध्याात्मिक र अराजकता गर्ने छुट कसैलाई नभएको बताए । 

मन्त्री किराँतीले मान्छे पोल्ने काममा समेत शोषण हुने गरेको विषय सुनेको भन्दै शोषण अन्त्य गर्न निर्देशन दिए ।


Author

थप समाचार
x