राजनीति

'समाधानः २४ घण्टे श्रम सहायता केन्द्र'को शुभारम्भ

इकागज |
माघ १७, २०७९ मंगलबार १८:६ बजे

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टरलाई थप व्यवस्थित गर्दै समाधानः २४ घण्टे श्रम सहायता केन्द्रको शुभारम्भ गरेको छ ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमिकको गुनासोलाई सुन्न र समाधान गर्नका लागि २४ घण्टे श्रम सहायता केन्द्र बनाइएको जानकारी दिए । उनले श्रम सहायता केन्द्रमा आएका सबै गुनासाहरूलाई सरकारले समाधान गर्ने गरि काम सुरु गरिएको बताए ।


मन्त्री अर्यालले ६ महिनाभित्र श्रमाधान नामक मोवाइल एप सञ्चालन गर्ने र श्रम सम्बन्धी सम्पूर्ण कार्यहरूको टाइम कार्ड लागू गरिने जानकारी दिए । त्यस्तै उनले अशक्तहरूलाई सिंहदरबार प्रवेश गर्दा ट्याक्सी लैजान सक्ने व्यवस्था गरिएको बताए ।

त्रिभुवन विमानस्थलको अध्यागमनमा विदेश जाने सबै नेपालीका लागि एउटै लाइनको पनि व्यवस्था भएको उनको भनाइ छ । यसले गर्दा वैदेशिक रोजगारमा जानेहरूले काठमाडौं विमानस्थलमै अपहेलित महसुस गर्न नपर्ने मन्त्री अर्यालले बताए ।

पत्रकार सम्मेलनमा मन्त्री अर्यालले वैदेशिक रोजगारीका क्रममा विदेशका जेलमा परेका नेपालीहरूको आवश्यक तथ्यांक संकलन हुन थालेको भन्दै उद्धारका लागि आवश्यक पहल गर्न निर्देशन समेत दिइसकेको बताए ।


Author

थप समाचार
x