राजनीति

यो सरकारले उद्योगी व्यवसायीको समस्या सुन्छ : एमाले अध्यक्ष ओली

बाबुराम भण्डारी |
माघ १९, २०७९ बिहिवार २१:२१ बजे

विराटनगर- नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको सीएनआई कोसी एक्स्पो २०७९ को बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

एक्स्पो उद्घाटन गर्दै ओलीले विराटनगर औद्योगिक रूपमा पछि परेको भन्दै अब त्यस्तो छुट नभएको बताएका छन् । उनले अहिलेको सरकार उद्योगी व्यवसायीहरूको कुरा सुन्न तयार रहेको पनि बताए । साथै डेढ वर्षसम्म धरासायी बनेको मुलुकको अर्थतन्त्र अब लयमा फर्किने समेत दाबी उनले गरे ।


‘अहिलेको सरकारभन्दा अगाडि अत्यन्तै बेथितिको अवस्था थियो । यो सरकार बनेको सवा महिनामै सकारात्मक कदम चालिएको छ । अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउन ठोस काम भएको छ,’ ओलीले भने, ‘सरकारको कुराले मात्रै उद्योगीहरूको च्यूरा चैं भिज्दैन । उद्योगी व्यवसायीहरूले पनि अनुपयुक्त मागहरू ल्याउनु हुँदैन । अहिलेको सरकारले सबैको कुरा सुन्छ ।’

अध्यक्ष ओलीले सरकारको सबैभन्दा ठूलो दलको नाताले आफ्नो पार्टी सरकारमा सहभागी भइरहेको अवस्थामा उद्योगी व्यवसायीहरूको समस्या समाधान हुनेमा विश्वस्त हुन आग्रह गरे ।

उनले प्रदेश १ मा गुराँसको तेल उत्पादनको ठूलो सम्भावना रहेको तर्फ उद्योगी व्यवसायीहरूको ध्यानाकर्षण गराए । विराटनगर राजनीतिक रूपमा जागरुक थलो भएकाले आर्थिक रूपमा पनि अघि बढ्नुपर्नेमा जोड दिए ।

विगतको सरकारले आर्थिक क्षेत्रलाई निराशाजनक बनाएको आरोप लगाउँदै उनले भने, ‘डेढ वर्ष नालायक सरकार बन्यो, आर्थिक क्षेत्रमा यस्तो अवस्था कहिल्यै थिएन ।’ आफ्नो राजनीतिक जीवनमा भोग्नु परेको जेलनेलको दृष्टान्त दिँदै पूर्वप्रधानमन्त्री ओलीले हरेक समस्याका विरुद्ध लड्न सक्ने हिम्मतका साथ उद्योगी व्यवसायीहरू उभिनुपर्ने बताए ।

उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन र उपभोगको प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना हुनुले अप्ठेरोमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन भूमिका निर्वाह गरेको उल्लेख गरे ।

सरकारले विलासिताका वस्तुहरूको आयातलाई निरुत्साहन गर्दै व्यापार घाटा कम गर्ने नीतिमा रहेको मन्त्री भण्डारीले बताए । चाँडै विराटनगरसम्म भारतबाट कार्गो रेल संचालन हुनेमा आफू विश्वस्त रहेको पनि जिकिर गरे ।

‘निरासा छाएको उद्योग क्षेत्रमा आर्थिक संकुचनको कारण सरकारले खोज्ने छ,’ मन्त्री भण्डारीले भने, ‘उद्योग संचालन गरेकै कारण हुने हिनताबोध अन्त्य गर्न सरकारले उद्योगी व्यवसायीहरूको साथ दिनेछ, आर्थिक क्षेत्रलाई फेरि सबैको सहयोगमा माथि उठाउन प्रयास हुनेछ ।’

मन्त्री भण्डारीले विगत १८ महिनामा सरकारबाट उत्पन्न गरिएका समस्याले आर्थिक क्षेत्रमा निरासा पैदा गरेको भन्दै वर्तमान सरकारले अवस्था सुधारका लागि नीति अघि बढाइसकेको जानकारी दिए । सरकार निजी क्षेत्रकै साथमा रहेको कुरा महसुस गराउने प्रतिबद्धता पनि जनाए । साथै बैंक तथा वित्तीय संस्थाहरूको चर्को व्याजदर पनि नियन्त्रण गर्न सरकार प्रयासरत रहेको बताए ।

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रका समस्यालाई तीन तहका सरकार मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले प्रदेश खारेज गर्नुपर्छ भन्ने धारणा अहिल्यै बनाउन नमिल्ने भन्दै प्रदेश सरकारले गरेका राम्रा कामको निजी क्षेत्रले पनि प्रशंसा गर्नुपर्ने बताए ।

नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष बिष्णुकुमार अग्रवालले एक्स्पोले उद्योग र उद्योगीहरूको मनोबल उकास्न मद्दत गरेको बताए । उद्योगीहरू कठिन अवस्थामा गुज्रिनु परेको र उत्पादनको मागमा संकुचन पैदा भएको प्रति चिन्ता व्यक्त गरे ।

‘हामीले नै गरेको एउटा अध्ययन अनुसार ८० प्रतिशतसम्म उत्पादनको माग संकुचन भएको छ,’ अग्रवालले भने, ‘अहिलेको सरकारले गरेका केही प्रयासले आशाको किरण पनि छाएको छ । चुनौतीपूर्ण बनेको बजेट कार्यान्वयन गर्न हामीले दिएको सुझाव सरकारले अवश्य सुन्ने छ ।’

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको औधोगिक विकासको इतिहास गर्विलो रहेपनि अहिले छैटौं स्थानको शहर बनेको भन्दै चिन्ता व्यक्त गरे । विराटनगरमा अहिले पनि व्यवस्थित खालको प्रदर्शनी स्थलको अभाव रहेको भन्दै तीन तहका सरकार र निजी क्षेत्र मिलेर त्यसको समाधान खोज्नुपर्ने बताए ।

‘प्रदर्शनी स्थलको विषयमा छलफल गर्न महानगर सँधै तयार छ । तीनै तहको सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ,’ कोइरालाले भने, ‘बथनाहा–कटहरी रेल मार्गको अवरोध हटाउनका लागि सबैको सहयोग खाँचो छ ।’ 

कार्यक्रमका अध्यक्ष सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले निजी क्षेत्रले बैंकको चर्को ब्याजदर, बिमा कम्पनीको प्रिमियम र लोडसेडिङको समस्याले अत्यन्तै प्रभावित भएको भन्दै उद्योगीहरू आत्महत्या गर्ने अवस्थासमेत बनेको प्रति चिन्ता व्यक्त गरे । उनले आत्महत्या गरेका उद्योगी व्यवसायीलाई सहीद घोषणा गर्न माग गरे । घिमिरेले बैंकहरूले ८० प्रतिशतसम्म नाफा लिइरहेको तर निजी क्षेत्र भने बर्सेनि धरासायी बनेको भन्दै चिन्ता व्यक्त गरे ।

‘कोभिडका कारण थला परेका उद्योग व्यवसायलाई बैंक, बिमा कम्पनी र विद्युत् प्राधिकरणले अझै थिलथिलो बनाइदिएको छ । हामीबाट साहु महाजनले जस्तो ३६ प्रतिशत ब्जाज असुली गरिएको छ,’ घिमिरेले भने, ‘अघोषित लोडसेडिङ कायमै छ । हाम्रा समस्या सुनाउँदा विद्युत् प्राधिकरणमा एमडीले उल्टै तह लगाउने भनिरहेका छन्, हामी डिप्रेसनमा जाने अवस्था भएको छ ।’

स्थापनाको डेढ वर्षमै सीएनआईले पहिलो पटक एक्स्पोको आयोजना गरेको हो । एक्स्पोमा देश र विदेशका उद्योग तथा व्यवसायसम्वद्ध करिब ४०० स्टलहरू राखिएका छन् ।

उद्घाटनअघि तराईका विभिन्न जातजातीको साँस्कृतिक पहिचान झल्किने झाँकीले विराटनगरको ट्राफिक चोकबाट एक्स्पो स्थल विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गसम्म पैदल यात्रा गरेको थियो । थारू, उराव, मुण्डा, बाँतर जातीको साँस्कृतिक झाँकीका साथै नेपाल प्रहरीको ब्याण्ड, महिलाहरूको समूहले बजाएको पञ्चेबाजालगायत प्रदर्शन गरिएको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x