राजनीति

ओली चाहन्छन् रवि, प्रचण्ड चाहन्छन् माधव नेपाल

जीवन कुँवर |
माघ २०, २०७९ शुक्रवार १३:४५ बजे

मन्त्री नपाएको झोकमा सरकार गठनको डेढ महिना नबित्तै सत्ता गठबन्धन धर्मराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई फेरि गृहमन्त्री नबनाए सरकार छाड्‌ने धम्की बालुवाटारदेखि बालकोटसम्म दिएका छन् ।

बालुवाटार र बालकोटको त भित्रि कुरा भए सामाजिक सञ्‍जालबाटै रविले आफू अभिमन्यू नभएको भन्दै मौनता तोड्‌ने बताइसकेका छन् । नागरिकता विवादमा सांसद पद खोसिएपछि गृहमन्त्रीबाट राजीनामा दिएका रवि गैरसांसद भए पनि मन्त्री बन्‍न गरेको दौडधुप देख्‍दा लाग्छ पैसा देखेपछि महादेवको मात्रै तीन नेत्र होइन् सत्ता र शक्तिका लागि रविको पनि बल्‍ने रहेछ ।


गृहमन्त्री नदिए सरकार छाड्‍नेसम्म धम्की दिइरहेको रास्वपा पार्टीभित्र झनै विवाद छ । एकाथरी सरकार छाडौँ भन्‍ने छन् भने अर्कोथरी छाड्‌न हुँदैन् भन्‍ने जमात ठूलै छ । हिजो मात्र रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा दुई दिन पर्खिने निर्णय गरेको छ । 

सञ्‍चारकर्ममा हुँदा रवि यस्ता पात्र थिए जो सत्ताका सधैँ प्रतिपक्ष थिए, नेताका सधैँ विरोधी थिए । एउटा पत्रकारमा हुने गुण सबै थियो । तर उनीमा आफै न्यायाधीश बनेर फैसला गर्ने अर्को बैगुण पनि थियो । उनी सञ्‍चारकर्ममा भएको भए रविको अहिलेको दौडधुप कसरी व्याख्या गर्थे होला ? नयाँ दल र युवा नेता पनि सत्ताको लुछाचुँडीमा कसरी लाग्ने रहेछन् त भन्‍ने कुरा रविले छोटै समयमा छर्लङ्ग पारिदिएका छन् ।

त्यसोत गैरसांसद रविलाई गृहमन्त्री बनाउन स्वयम उनी मात्रै लागेका छन् उनीभन्दा बढी जोडतोडले एमाले अध्यक्ष ओली लागेका छन् । ३३ दिन गृहमन्त्री बनेका रवि नागरिकता विवादमा सर्वोच्‍चको फैसलापछि त्यसको पर्सिपल्टै गएर पुन:नागरिकता लिए । उनको फैसलाको पूर्णपाठ अझै आइसकेको छैन । अस्तिको फैसला संक्षिप्त मात्रै हो । नागरिकता लिएलगत्तै उनको दौडधुप सुरु भयो । रवि सोही दिन प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न बालुवाटार पुगे । उनले सोही दिन ओलीलाई पनि भेटे ।

रविले नागरिकता लिएको आज ६ दिन भयो । नागरिकता लिएदेखि उनले पाँच पटक प्रधानमन्त्री प्रचण्डलाई भेटिसके । त्योभन्दा बढी ओलीलाई भेटेका छन् । ३३ दिनसम्म सत्ताको स्वाद चाखेका रवि सत्ताबिना बाँच्‍नै नसकिने जसरी दौडधुप गरिरहेका छन् । अहिले जसरी रवि दौडधुप गरिरहेका छन् यस्तो दौडधुप त पूराना दल रविकै भाषामा भनौँ 'नो नट अगेन'ले पनि गरेका छैनन् होला ।

रविको राहदानी विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धान गरिरहँदा गैरसांसद रवि आफै गृहमन्त्रीका लागि मरिहत्ते गरिरहेका छन् । स्वार्थ बाझिने ठाउँमा जान मरिहत्ते गरेका विषय उनी आफै सञ्‍चारकर्ममा हुँदा खुबै फलाक्थे । राहदानीको अनुसन्धान नसकिँदै आज उनी स्वार्स्थ बाझिने मन्त्रालय गृह चाहियो भन्दै बालुवाटार र बालकोटको ढोकामा चिच्याउँदै पुगेका छन् । रविको चिच्‍याइ ओलीले त सुने तर प्रचण्डले सुनेका छैनन् । अझ भनौँ प्रचण्डले रविको रोइकराइ सुन्‍न पनि चाहेका छैनन् । प्रचण्डले रविलाई टारेका टार्‍यै छन् 'हतार नगर्नुस् फैसलाको पूर्णपाठ आओस् न ।'

रविलाई गृहमन्त्री बनाउन ओली किन यसरी लागेका छन् त ? यसमा केही कारण छ । बालकोटमा रविको रोइकराइले ओली भावुक बनेका होइनन् । रास्वपालाई जसरी पनि सत्तामै राख्‍ने ओलीको दाउ मात्रै हो । रविको माया ओलीलाई लागेर गृहमन्त्री बनाउन प्रचण्डलाई दबाब दिएका पनि होइनन् । एउटै कारण हो- एकिकृत समाजवादी पार्टी ।

समाजवादीका नेताहरूसँग बोल्‍न त नचाहने ओलीले सरकारमा समाजवादीको अनुहार हेर्ने कुरै भएन ।

एकिकृत समाजवादीका १० सांसद छन् । रास्वपाको २० सांसद । संख्याको हिसाबमा समाजवादीको भन्दा रास्वपाको दोब्बर सांसद छन् । प्रचण्डले संख्या हेरेका छैनन् । तत्कालिन नेकपा हुँदा ओलीविरुद्ध सँगै सडकमा होमिएका सहयात्री खोजेका हुन्- माधवकुमार नेपाल ।

ओली कुनै हालतमा एमाले फुटेर बनेको समाजवादीलाई सरकारमा ल्याउन चाँहदैनन् । समाजवादीका नेताहरूसँग बोल्‍न त नचाहने ओलीले सरकारमा समाजवादीको अनुहार हेर्ने कुरै भएन । प्रचण्डलाई विश्वासको मत दिँदा समाजवादीले मात्रै होइन् नेपाली कांग्रेसले पनि साथ दिएको छ ।

सम्बन्धकै कुरा गर्ने हो भने ओलीसँग भन्दा समाजवादीका अध्यक्ष नेपालसँग प्रधानमन्त्री प्रचण्डको राम्रो छ । त्यसैले रास्वपालाई गृहमन्त्री नदिँदा सरकारबाट बाहिरिएर समाजवादी सरकारमा भित्रिएला भन्‍ने सबैभन्दा बढी डर ओलीलाई छ । ओली जसरी पनि समाजवादीको सरकार यात्रा रोक्‍न चाहन्छन् । ओलीले यही कार्ड फ्यालेका हुन् अहिले जसले गर्दा रवि पनि खुसी हुने समाजवादी पनि सरकारमा नआउने । 

गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने रास्वपाले धम्कीँ दिइरहँदा समाजवादीका नेताहरूले प्रचण्डसँग बाक्लै उठबस गरिरहेका छन् । हिजो मात्रै माओवादीको स्थायी कमिटी बैठक नसकिँदै समाजवादीका उपमहासचिव डा. विजय पौडेल पेरिसडाँडामा प्रचण्डलाई कुरिरहेका थिए । बैठक सकिएलगत्तै प्रचण्ड र पौडेलबीच छलफल भएको थियो । उक्त छलफलमा रास्वपा सरकारबाट बाहिरिए पनि समाजवादीले साथ दिने माधव नेपालको सन्देश पौडेलले प्रचण्डलाई सुनाएका थिए ।

प्रचण्डले पछिल्लो समय माओवादीका नेताहरूलाई भन्‍न थालेका छन् 'गृह र अर्थमध्ये एउटा मन्त्रालय नलिए काम गर्न सकिन्‍न ।' विगतका सरकार गठनमा पनि प्रधानमन्त्री पद पाएको दलले गृह र अर्थमध्ये एउटा मन्त्रालय लिने गरिन्थ्यो । माओवादीका दोस्रो तहका नेताहरूले गृह मन्त्रालय कुनै हालतमा छाड्‌न नहुने सुझाव दिइरहेका छन् । गृह माओवादीले राखेर माओवादीले पाएको अर्को मन्त्रालय साट्‌न चाहिरहेका छन् प्रचण्ड । रास्वपा सरकारबाट बाहिरिए पनि फरक नपर्ने भन्दै प्रचण्डले दोस्रो तहका नेताहरूलाई भन्‍न थालेका छन् ।

प्रचण्ड गृह मन्त्रालय कुनै हालतमा रास्वपालाई नदिने पक्षमा छन् । अझ भनौँ प्रचण्डलाई रास्वपा 'घर न घाटको' भएको छ । सरकारबाट रास्वपा बाहिरियोस् भन्‍ने प्रचण्डको भित्रि चाहना छ । रास्वपा सरकारबाट बाहिरिए समाजवादीलाई सरकारमा ल्याउन सहज बाटो प्रचण्डले खोजिरहेका छन् । यही मौकामा समाजवादीलाई सरकारमा भित्र्याउन खोजेका प्रचण्डलाई पाइलैपिच्छे ओलीले ब्रेक लगाउँदै आएका छन् ।

समाजवादीलाई सरकारमा ल्याए प्रचण्ड र ओलीको सम्बन्ध मात्रै धर्मराउने छैन डेढ महिना नपुगेको सरकार पनि ढल्‍न सक्‍छ ।


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x