राजनीति

कांग्रेस पदाधिकारी बैठक

कांग्रेसले कस्तो रणनीति तय गर्ला ?

इकागज |
बैशाख २०, २०७८ सोमबार १६:४९ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट आगामी वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेपछि  रणनीति तय गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।  एमाले अध्यक्ष समेत रहेका ओलीले नै विश्वासको मत लिने भएपछि त्यसमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले तीन बजे बैठक बोलाएका हुन् । 

सभापति देउवाले आफ्नै निवमास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । कोभिड-१९ लाई ध्यानमा राखेर बाहिर खुला स्थानमा बैठक गर्ने तयारी छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे पदाधिकारी बैठकमा छलफल हुने बताए । 


प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा वैशाख २७ गते विश्वासको मत लिने बताउँदै विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई आगह गरेका थिए । त्यसपछि राष्ट्रपतिले विशेष अधिवेशन आह्वान गरेकी हुन् ।

ओलीको राजीनामा मागेको नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने निर्णयसमेत केन्द्रीय समितिमा पारित भएको थियो । त्यो निर्णय अनुरुप नै कांग्रेसले आफूलाई चुस्त राख्‍न सक्नुपर्ने देखिएको छ ।

प्रधानमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव पेश गर्ने गृहकार्य पनि कांग्रेसको थियो । यद्यपि ओली स्वयंले विश्वासको मत मागेकाले त्यो अनुरुपको रणनीति तय गर्न देउवाले पदाधिकारी बैठक राखेका हुन् । 

आफ्नोमा संख्या नपुगेर अविश्वासको प्रस्ताव लैजान नसकेको बताइरहेका देउवासामु ओलीलाई विश्वासको मत पुर्‍याउन नदिने अवसर पनि हो । त्यसमा देउवाले भित्री रणनीति कसरी तय गर्छन त्यो हेर्न बाँकी छ । 


Author

थप समाचार
x