राजनीति

कोभिड बिरामीको उपचार सहज बनाउन कैलालीका सिडिओलाई उपप्रधानमन्त्रीको निर्देशन

इकागज |
बैशाख २२, २०७८ बुधबार ७:४६ बजे

फाइल तस्बिर

काठमाडौँ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोभिड-१९ का कारण उत्पन्‍न पछिल्लो परिस्थितिबारे जानकारी लिएका छन् । कैलालीमा कोभिडका बिरामीहरुले उपचार नपाएको, शव व्यवस्थापन नभएको जस्ता गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेलले मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी जानकारी लिएका हुन् ।

उनले संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनताको राहतको महसुस गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिएका छन् । मन्त्रिपरिषद्ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सदूरपश्चिमको समन्वय गर्नका लागि तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिधै आफूलाई अथवा सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन पनि दिए । 


उपप्रधानमन्त्री पोखरेलले सिमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोभिड विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सिडियोसँग जानकारी लिएका थिए । रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोभिड विशेष अस्पताल र आइसोलेशन सेन्टर बनाइरहेको जानकारी दिए । त्यसका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई संयुक्त व्यवस्थापनको जिम्मा दिइएको उनले जानकारी गराए । 

उपप्रधानमन्त्री पोखरेलले अक्सिजनको दुरुपयोग रोक्नुपर्ने भन्दै धनगढीको अक्सिजन प्लान्टको क्षमता बढाउन आवश्यक परे सिसिएमसीले सहयोग गर्ने बताए । खाद्यान्‍न तथा अत्यावश्यक सामाग्रीको ढुवानी बाहेक सिमामा आवातजावतमा कडाइ र निगरानी गर्न पनि उनले निर्देशन दिए । उपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोभिडका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्‍न निर्देशन दिएका थिए ।


Author

थप समाचार
x