राजनीति

यस्ता छन् मन्त्रिपरिषद बैठकका नयाँ निर्णय

इकागज |
फागुन १६, २०७९ मंगलबार १६:४५ बजे

काठमाडौं–सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेकी छन् ।मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै निर्णय सार्वजनिक गरिएको हो । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सशस्त्र द्वन्द्व र जनआन्दोलनका क्रममा मृत्यु भइ शहीद घोषणा भइ राजपत्रमा नामावली प्रकाशित हुन बाँकी रहेका शहीदहरुको नामावली गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिइन् । 


बैठकले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता सम्बन्धी समम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यस्तै कर्णाली कोरिडोर ४ सय केभि प्रसारण लाईन आयोजनाको लागि जग्गा प्राप्त गर्न क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले सरकारका सवै निकायका तथ्याङ्क एवं सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौडामा रहेको डिजास्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने गरि २४ सै घण्टा नेटवर्किङ र साइवर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

उनले राष्ट्रपतिको चुनावपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने जानकारी दिइन् । राष्ट्रपति चुनावपछि मात्रै मन्त्रिमण्डल पुनर्गठन हुने तयारी गरिएको छ । राष्ट्रपतिको चुनाव नजिक आइसकेकाले यस्तो तयारी गरिएको हो । 
यसअघि सरकारलाई समर्थन गरेका केही दलहरुले समर्थन फिर्ता लिइसकेको अवस्थामा संवैधानिक र कानूनी व्यवस्था अनुसार प्रधानमन्त्रीले समयभित्रै विश्वासको मत लिने बताएकी हुन् ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने भएका छन् । अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता शर्माले बताइन् । 


Author

थप समाचार
x