राजनीति

स्ववियु निर्वाचन : कास्कीमा अनेरास्ववियु र क्रान्तिकारी गठबन्धन तयारी

धनबहादुर गुरुङ |
फागुन २६, २०७९ शुक्रबार २१:३८ बजे

पोखरा- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि शनिबार मनोनयन दर्ता हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा हुन लागेको निर्वाचनका लागि विद्यार्थी संगठनहरू उम्मेदवार छनोटदेखि समानुपातिक सदस्य चयन गर्न व्यस्त छन् ।

कास्कीका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा चुनावी माहोल बनिरहेको छ । यहाँ पृथ्वीनारायण क्याम्पस, वन विज्ञान संस्थान पोखरा, विन्ध्यवासिनी संस्कृत विद्यापीठ, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस र जनप्रिय बहुमुखी क्याम्पसमा निर्वाचन हुँदैछ । यी क्याम्पसहरू मा पार्टी निकट संगठनहरू लागि परेका छन् । 


विद्यार्थी संगठनहरू तयारीमा जुटिरहेका बेला केही संगठनहरू गठबन्धनको तयारीमा जुटेका छन् । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेलका अनुसार पृथ्वीनारायण क्याम्पसमा अखिल र अखिल क्रान्तिकारी मिल्ने सहमति भएको छ । पोखरेलका अनुसार यहाँ सभापति अनेरास्ववियुले लिने गरी सहमति भएको छ ।

‘पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुलाई सभापति, कोषाध्यक्ष र ५ जना सदस्य लिने अनि समानुपातिक आ–आफ्नो मत हुन्छ,’ उनले भने, ‘सचिव र ३ जना सदस्य क्रान्तिकारीलाई दिने सहमति भएको छ ।’ यसमा पार्टीको नेताहरूले छलफल गरी निर्णयपछि सहमति भएको उनले बताए । 

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य त्रिदिव गुरुङले आफ्नो संगठन गठबन्धनको तयारीमा रहेको बताए । तर, कुनसँग मिलेर जाने भन्ने विषयमा टुंगो नलागेको उनको भनाइ थियो । ‘अहिलेसम्म गठबन्धनको विषयमा सहमति त भएको छैन तर, सल्लाह भइरहेको छ,’ उनले भने, ‘ओपन छलफल भइरहेको छ । कता को सँग मिल्ने भन्ने भोलिसम्म थाहा होला ।’ अनेरास्ववियुसँग मात्र नभएर सबै संगठनसँग वार्ता भइरहेको उनले बताए ।

यता, नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले भने सहमति नभएको तर सहमति नजिक पुगेको बताए । ‘अहिले नै सबै कुरा भएको छैन । वार्ता भइरहेको छ,’ उनले भने, ‘यसको टुंगो आजै त नलाग्ला तर भोलिसम्म केही होला ।’ अनेरास्ववियु कास्की जिल्ला संयोजक सन्तोष पोखरेलले पनि गठबन्धनको विषय आफूलाई जानकारी नभएको बताए ।

‘सहमतिमा जाने भन्ने कुरा अहिलेसम्म बाहिर आएको छैन,’ उनले भने, ‘आन्तरिक रूपमा अहिलेसम्म अखिल एक्लाएक्लै चुनाव लड्ने भन्ने कुरा आएको छ ।’ गठबन्धनको संभावना भने ६०/४० रहेको उनले बताए । केन्द्रीय तहबाटै निर्णय भएर आएमा मिलेर जाने उनको भनाइ थियो । 


Author

थप समाचार
x