राजनीति

नर्सिङ क्याम्पस र महेन्द्र मोरङको तालाबन्दी खुल्यो

इकागज |
चैत ४, २०७९ शनिवार १७:५ बजे

विराटनगर- विराटनगरको विराटनगर नर्सिङ क्याम्पस र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुले लगाएको तालाबन्दी खुलेको छ ।

स्ववियु निर्वाचनको दुई दिनअघि शुक्रबार नर्सिङ क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको थियो । त्यहाँ शनिबार बिहान प्रहरीले बल प्रयोग गरेर ताला खोलेको हो ।
नर्सिङ क्याम्पसमा नेविसंघको तालाबन्दीपछि अनेरास्ववियुले पनि शनिबार बिहानै महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको थियो । अनेरास्ववियुले आफ्नो संगठनको तर्फबाट प्रस्तुत माग सम्बोधन गर्न क्याम्पस प्रशासन र निर्वाचन समिति तयार देखिएको भन्दै तालाबन्दी खोलेको जनाएको छ ।


नेविसंघ र अनेरास्ववियुले दुवै क्याम्पसमा निर्वाचनको प्रक्रियामा धाँधली भएको भन्दै दोष क्याम्पस प्रशासन र निर्वाचन समितिलाई थोपार्दै तालाबन्दी गरेका थिए ।
अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले आफ्नो संगठनको माग सम्बोधन गर्न क्याम्पस प्रशासन सकारात्मक रहेकोले सहमतिमै ताला खोलिएको जानकारी दिए ।

‘हामी निर्वाचनको विपक्षमा नभए पनि क्याम्पस प्रशासनको भूमिका शंकास्पद देखिएपछि तालाबन्दी गरेका थियौं,’ घिमिरेले भने, ‘छलफलमा हाम्रा मागहरू पूरा गर्ने र निश्पक्षमा रूपमा भयरहित रूपमा निर्वाचित गर्न क्याम्पस प्रशासनले प्रतिबद्धता जनाएपछि ताला खोलेर चुनावको प्रक्रिया अघि बढाउन सहयोग गरेका छौं ।’

मोरङका ९ वटै क्याम्पसमा आइतबार हुने स्ववियु निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आफ्नो संगठनले सहयोगी भूमिका निर्वाह गर्ने समेत उनले बताए ।

यसैबीच स्ववियु निर्वाचनलाई अझ शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईसहित सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि र विद्यार्थी संगठनका प्रतिनिधिहरूबीच शनिबार बेलुका बैठक तय गरिएको जनाइएको छ ।


Author

थप समाचार
x