राजनीति

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ

इकागज |
चैत १२, २०७९ आइतबार १८:२३ बजे

फाइल फोटो

काठमाडौँ - उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले विशेष योजना बनाएर सडकहरूको स्तरोन्नति गर्न निर्देशन दिएका हुन् । 

सडकसँग सम्बन्धित निकायहरूको उच्चस्तरीय समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले भने, 'विशेषत लैनचौरदेखि बालाजुसम्म र केशरहमहल हुँदै एपोर्टसम्मको सडक स्तरोन्नतीका लागि तत्काल ठोस योजना बनाउनुपर्‍यो । ' उनले काठमाडौँ उपत्यकाका सडकको अवस्थाबारे जानकारी लिँदै समस्या देखिएका ठाँउमा प्रभावकारी योजना बनाउन निर्देशन दिएका हुन् । 


उनले भने, 'जनताले कर तिरेका छन् । तर सरकारले राम्रो सडकसमेत उपलब्ध गराउन सकेको छैन । सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिबाट हामीमाथि उठ्नुपर्छ ।' सम्बन्धित निकायबीचको समन्वय गरेर गरेर गुणस्तरीय सडक बन्नुपर्नेमा उनको जोड थियो । 

नयाँ सडकमा अनिवार्यरूपमा नयाँ ढङ्गले जानेगरी सम्झदारी गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले भने, 'नयाँ बनेका सडकमा अनिर्वायरूपमा एकैपटक एउटा मोडालिटी विकास गरेर काम गर्नपर्छ, सम्बन्धित निकायबीच समझदारी गर्नुहोस् ।'
 ए
उनले बनिसकेका ठाँउमा यथावत समस्या तत्काल हल गर्न प्रभावकारी योजना बनाउनुपर्ने बताए । सडक मर्मत सम्भार, विस्तार र निर्माणमा सधैँ जसो दोहोरीने समस्या हल गर्नका लागि ‘युटीलिटि करिडोर’ को अवधारणाबारे मन्त्रालय र प्रधानमन्त्रीसँग समेत छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए । 

उनले सडक निर्माणको जिम्मेवारी पाएकालाई आवश्यकताअनुसार सहयोग गर्न र समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही अघि बढाउनसमेत निर्देशन दिए । बैठकमा सडकसँग सम्बन्धित विभिन्न आठ निकायका प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा सडक विभागअन्तर्गतका राष्ट्रिय राजमार्ग एवं सहरी तथा सहायक राजमार्ग सडक, नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाएको १५ वटा सडक र आयोजना कार्यान्वयन निर्देशनालयले स्वीकृति पाएको १८ वटा सडकको अवस्थाबारे छलफल गरिएको थियो ।  

सो अवसरमा मन्त्रालयका सचिव केशवकुमार शर्माले सडकको दुरअवस्थाले सर्वसाधारणलाई सास्ती पुर्‍याएको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले भने, 'समयमा सडक मर्मत नहुँदा राष्ट्रिय बेइज्जत भइसक्यो । सबै निकायले समन्वय बढाउन आवश्यक छ । दोषारोपण र दोहोरोपनमा समय खर्चनु हुँदैन ।'

विद्युत्    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले समयमा काम सम्पन्न गर्न नसकेको स्वीकार गर्दै भूमिगत तार व्यवस्थापनको जटिलता बुझ्न आग्रह समेत गरे । उनले भने, 'निर्माण व्यवसायीहरूले विभिन्न बहानामा काम गर्न नसकेको कारण देखाइरहेका छन् । प्राधिकरणले कतिपय ठाँउमा समयमा काम सम्पन्न गर्न सकेको छैन । ' तर भूमिगत तार व्यवस्थापनका प्राविधिक जटिलताहरू धेरै छन् ।” उनले सडक निर्माणको कामलाई दु्रतगतिमा सम्पन्न गर्न प्राधिकरण सधैँ तयार रहेको  बताए । 

आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले पनि समन्वय बढाएर काम सम्पन्न गर्न तयार रहेको बताए । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका उपमहाप्रवन्धक डिपी चापागाईँले विद्यमान रणनीति परिवर्तन गरेर निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।  रासस


 


Author

थप समाचार
x