राजनीति

कांग्रेस छाड्नुअघि स्वर्णिमको एकदिने दौडधुप

इकागज |
चैत १६, २०७९ बिहीबार १९:३१ बजे

फाइल फोटो

काठमाडौं - अर्थविद् स्वर्णिम वाग्ले मंगलबार विराटनगरमा कोशी प्रदेशका सांसदहरूलाई अभिमुखीकरण तालिम दिइरहेका थिए । उनको फेसबुक पेजमा लुम्बिनी घुमघाम गर्दै गरेको भिडियो हाल्दै सातै प्रदेशमा सांसदहरूलाई अभिमुखिकरण दिने कार्यक्रम रहेको उल्लेख गरेका छन् । तर एक्कासि अभिमुखीकरण हुँदाहुँदै उनले कांग्रेस पार्टी छाडेको घोषणा गरे । 

गत मंसिरको निर्वाचनमा चितवन-१ बाट टिकट खोजेका वाग्लेले अन्तिम समयमा टिकट पाएनन् । टिकट नपाउँदा पनि उनी कांग्रेसका उम्मेदवारहरूलाई जिताउन विभिन्न सभा सम्मेलन र फोरमहरूमा सक्रिय भए । एक पटक अवसर नपाउँदैमा पार्टी छाड्नु हुन्न भन्दै कांग्रेस कार्यकर्तालाई अभिमुखीकरण गर्ने वाग्लेले अहिले भने आफै कांग्रेस छाडेका छन् । उनी अरु केही कारण हैन सांसद बन्ने र त्यसपछिका लाभका पदका लागि कांग्रेस छाड्न तयार भएका हुन् । 


उपनिर्वाचन हुने भएपछि कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले चितवन-२ बाट निर्वाचन लड्ने भए टिकटका लागि आफूहरू लाग्ने बताएका थिए । त्यसपछि केही समय दिनुस भन्दै वाग्लेले २ नम्बर क्षेत्रको अवस्थाबारे सुक्ष्म अध्ययन गरे । उनले निर्वाचनमा विजयी हुन गाह्रो हुने देखेपछि चितवनबाट निर्वाचन नलड्ने बताएका थिए । त्यसपछि अन्य निर्वाचन क्षेत्रबाट पनि उनी उपनिर्वाचनमा उम्मेदवार बन्ने कुरा कहीँ कतै थिएन । 

उपनिर्वाचनमा उम्मेदवारी दर्ताको मिति नजिकिएसँगैं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वाग्लेलाई उम्मेदवार बन्न प्रस्ताव राखेको थिए । सो प्रस्ताव आएसँगैं उनी बुधबारदेखि तनहुँको यात्रामा निस्किएका थिए । रास्वपाका सांसद शिशिर खनाल, रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, युिनसेफका पूर्व कर्मचारी नमस्ते लाल र तनहुँका डा.रुपक विक लगायतको साथमा बुधबार बिहान ४ बजे मुग्लिन हुँदै देवघाट क्षेत्र घुमेका थिए । 

त्यसपछि उनीहरू आबुँखैरेनी पुगेर पाँच/सात जना गोप्य मानिसहरूलाई भेटेका थिए । आबुँखैरेनीका कांग्रेस सभापति विष्णु पन्तपनि सहभागी थिए । पन्तले अहिलेको उपनिर्वाचनमा उम्मेदवार हुन पाउँ भन्दै रास्वपा सभापति रवि लामिछानेकोमा पुगेर टिकट मागेका थिए । हिजै नै उनीहरू भानु नगरपालिका पुगे । त्यहाँ उनीहरूले केही दिनअघि पार्टी परित्याग गरेका कांग्रेसका स्थानीय कार्यकर्तालाई भेटे । लगतै उनीहरू दमौली गए । दमौलीमा पुगेर उनीहरूले नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव विश्व बास्तोलासँग डेढघण्टा कुराकानी गरेका थिए । गत मंसिरको निर्वाचन र अहिलेको उपनिर्वाचनमा पनि रविले बास्तोलालाइ नै उम्मेदवार बनाउन खोजेका थिए । वाग्लेको उम्मेदवारी दर्तासँगै बास्तोलासहित केही कांग्रेस कार्यकर्ता रास्वपा प्रवेश गर्ने उनीहरूको तयारी छ । उनीहरू हिजै काठमाडौँ फर्किएका थिए । 

बुधबारको तनहुँको दौडधुपपछि आज उनले चार जना नेताहरूलाई म्यासेज गर्दै देउवा-आरजु कम्पनीको हेपाहा र अपमान सहन नसकेर कांग्रेस छाडेको उल्लेख गरेका थिए । त्यसलगतै लामो भूमिका बाँधेर उनले कांग्रेस छाडेको घोषणा गरे । 
 


Author

थप समाचार
x