राजनीति

माधवकुमार नेपाल समूहले भोलि दिउँसो राजीनामा दिने

रातभरि अन्यथा भएन भने भोलिबाट पूर्व सांसद हुन्छौं : सांसद खतिवडा

इकागज |
बैशाख २५, २०७८ शनिबार २२:३५ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अघिल्लो दिन अर्थात् बैशाख २६ मै माधवकुमार नेपाल समूहले सांसद पदबाट राजीनामा दिने अन्तिम तयारी गरेको छ । 

‘रातभरि र भोलि बिहान स्थायी समितिले कारणवश तल-माथि निर्णय लिएन भने ९९ प्रतिशत राजीनामा दिने तयारीमा छौं’ एमालेका नेता तथा सांसद विरोध खतिवडाले शनिवार राति इकागजसँग भने, ‘रातभरिमा फरक स्थिति बन्ने सम्भावना न्यून भएको हुँदा सम्भवतः भोलि हामी पूर्व सांसद बन्छौं होला ।’


शनिवार ओली इतर समूहका प्रतिनिधि सभा सदस्यहरूको बैठक बसेको थियो । जहाँ माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालसहित प्रतिनिधि सभाका सदस्यहरू सामेल थिए । यसबीचमा तह-तहमा भएका वार्तामा संसदीय दलका नेता एवं प्रधानमन्त्री ओलीसँग सहमति बन्न नसकेपछि उनीहरू राजीनामा दिने तयारीमा पुगेका हुन् । तर, खतिवडाले राजीनामा दिने सांसदको संख्या खुलाएनन् ।

केही नेता राजधानीबाहिर र कोही विरामी भएका कारण संख्या यकिन नभएको हो । खतिवडाका अनुसार, आइतबार बिहान स्थायी कमिटिको बैठक बस्ने तय भइसकेको छ । दिउँसो २ बजेपछि व्यक्तिगत रूपमा राजीनामा दिने अनौपचारिक निर्णय भएको छ । राजीनामा व्यक्तिगत भए पनि राजीनामा बुझाउँदा सामूहिक रूपमा जानेछन् ।

कानुनतः राजीनामा चाहिँ व्यक्तिगत रुपमा सभामुखलाई बुझाउनुपर्ने हुन्छ । त्यसपछि दलको नेतालाई सामूहिक रुपमा राजीनामा दिनुको कारण खुलाउँदै पत्र बुझाउने योजना छन् । त्यसमा चाहिँ ओलीबाट यावत् क्रियाकलापको फेहरिस्त उल्लेख हुनेछ ।

संसदमा सँगै बस्न नसक्नुमा प्रधानमन्त्री ओली जिम्मेवार भएको ठहर्‍याउँदै ओलीलाई नै पत्र बुझाउनेछन् । पहिला दलका नेता र त्यसपछि पार्टी अध्यक्षलाई राजीनामा दिनुको कारण उल्लेख गर्दै पत्र बुझाउने तयारी छ । तर, एमालेमा पार्टी अध्यक्ष र संसदीय दलका नेता ओली एकै व्यक्ति हुन् । व्यक्ति एकै भए पनि पार्टी र दल फरक हुन् । दलका नेता र अध्यक्षलाई सामूहिक पत्र बुझाउने योजना छ । 


Author

थप समाचार
x