राजनीति

तनहुँ–१ मा त्रिपक्षीय भिडन्त : कांग्रेसको गढमा स्वर्णिमलाई छैन सहज

कमल विष्ट |
चैत २१, २०७९ मंगलबार १६:१८ बजे

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि प्रतिनिधिविहीन तनहुँ–१ मा चुनावी सरगर्मी दिन प्रतिदिन बढिरहेको छ । आगामी वैशाख १० को उपनिर्वाचनका लागि कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत ९ दलले उम्मेदवारी दिएका छन् ।

तर, प्रतिनिधिसभा सदस्यका लागि ९ जनाले मनोनयन दर्ता गराए पनि तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्ले प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।


कांग्रेसका केन्द्रीय सदस्य भट्टराई, पूर्वडिआइजी खनाल र अर्थशास्त्री वाग्लेबीचको त्रिपक्षीय भिडन्तमा को विजयी होला भन्ने धेरैको चासो छ । 

कसलाई कति चुनौती ? 

तनहुँ–१ कांग्रेसको गढ मानिन्छ । २०४८ यताका सात निर्वाचनमा २०७४ बाहेक कांग्रेसका पौडेलले जित्दै आएका थिए । गत मंसिर ४ को निर्वाचनमा पौडेलले पाँच दलीय गठबन्धनको सहयोगमा एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई ५ हजार बढी मतले पराजित गरेका थिए । पौडेलले २५ हजार ३ सय ६१ मत पाउँदा मगरले १९ हजार ९ सय मत पाएका थिए । 

तनहुँमा पौडेलले बनाएको साखले कांग्रेसका भट्टराईलाई फाइदा हुने निश्चित छ । त्यसमाथि भट्टराईलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी, जसपालगायत दलको साथ रहनेछ । यसले भट्टराईको जितको बाटोलाई सहज बनाउने देखिन्छ । 

२०७४ र ०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले यसपालि उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् । उनको सो निर्णयको प्रत्यक्ष–अप्रत्यक्ष लाभ कांग्रेसलाई मिल्नेछ । २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर पौडेललाई हराउन भूमिका खेलेको भन्दै जोशीलाई कांग्रेसले कारबाही स्वरूप पार्टीबाट निकालेको थियो । गत आइतबार बसेको कांग्रेस कार्यसम्पादन बैठकले उनीमाथिको कारबाही फुकुवा गरेको छ ।

जोशीले उम्मेदवारी दिएकामध्ये एकलाई आफूले समर्थन गर्ने पनि घोषणा गरेका छन् । मंसिरको चुनावमा जोशीले करिब ६ हजार ८ सय ८६ मत ल्याएका थिए । कांग्रेससँग बिग्रिएको सम्बन्ध सुधार भएर जोशीले भट्टराईलाई समर्थन गरे उनलाई जितका लागि सहज हुनेछ ।

कांग्रेसको जितलाई थप सजिलो बनाउने एउटा अर्को पनि प्रमुख आधार छ । त्यो हो– समानुपातिक मतमा तनहुँमा कांग्रेस पहिलो दल हुनु । कांग्रेसले ४२ हजार ४ सय २१ मत पाएको थियो । दोस्रो हुने एमालेले ३९ हजार ४ सय ८७ मत प्राप्त गरेको थियो । यो क्षेत्रमा माओवादी र एकीकृत समाजवादी पार्टीले क्रमशः १२ हजार ५ सय ७३ र १ हजार ३ सय ९४ मत पाएका थिए । 

भट्टराई तनहुँका स्थानीय हुन् । चुनावमा आफ्नै ठाउँको व्यक्तिलाई भोट दिनुपर्छ भन्ने मतदाताको मनोविज्ञानको लाभ पनि भट्टराईले उठाउने छन् ।

तर, पौडेलको ‘लिगेसी’को पूर्ण लाभ भट्टराईले नपाउन पनि सक्ने तर्क विश्लेषकहरूको छ । 

नेपाल प्रहरीको डिआइजीसम्म बनेका एमाले उम्मेदवार खनाल दोस्रो पटक चुनावमा होमिँदैछन् । मंसिरको निर्वाचनमा काठमाडौं–६ बाट उठ्दा उनी पराजित भएका थिए । पाँच महिनामै दोस्रो पटक निर्वाचनमा उठिरहेका खनाललाई तुलनात्मक रुपमा जित्न सहज देखिँदैन । लामो समय प्रहरी संगठन सम्हाल्दा उनले राम्रो साख बनाएका छन् । तर, आफ्नो कामले चर्चा बटुलेका उनलाई मतदाताले नेताका रुपमा भने पत्याएनन् । खनाल तनहुँकै स्थानीय भए पनि उनी त्यहाँ धेरै समय भिजेका छैनन् । 

त्यसो त मंसिरको निर्वाचनमा पाँच दलीय गठबन्धनको साथ पाउँदा पनि पौडेल र एमाले उम्मेदवारबीच विशाल मतान्तर थिएन । पौडेलले मगरलाई पाँच हजार बढी मतले मात्र पराजित गरेका थिए । समानुपातिक मतमा पनि कांग्रेस एमालेभन्दा करिब ३ हजार मतले मात्र पछाडि छ । 

खनालले कांग्रेसका पूर्वसहमहामन्त्री जोशीलाई रिझाउन सकेको खण्डमा उनले जित्न सक्छन् । २०७४ को निर्वाचनमा जोशीको उम्मेदवारी खारेज भएको थियो । आफ्नो उम्मेदवारी बदर भएपछि उनले तत्कालीन एमाले नेता किसान श्रेष्ठलाई सहयोग गरेका थिए । जोशीको समर्थनमा श्रेष्ठले पौडेललाई ६ हजार बढी मतले पराजित गरेका थिए । त्यतिबेला श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ९० मत पाएका थिए । 

यसरी हेर्दा खनालको जितका लागि जोशी निर्णायक देखिन्छन् । भट्टराईलाई जित्न खनालले जोशीलाई आफ्नो पक्षमा पार्नैपर्ने देखिन्छ । 

यता कांग्रेस त्यागेर रास्वपाबाट पहिलोपटक चुनावमा उम्मेदवार बनेका वाग्लेलाई पनि चुनाव जित्न सहज देखिँदैन । मंसिरको निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । प्रत्यक्षमा चौंथो भएको रास्वपा समानुपातिकतर्फ भने तेस्रो ठूलो दल बनेको थियो । रास्वपाले समानुपातिकमा २२ हजार बढी मत ल्याएको थियो । तर, २० दिनमात्र परको चुनावमा वाग्लेलाई आफ्नो पक्षमा माहोल बनाएर चार गुणा बढी मत ल्याउन पक्कै पनि सहज हुने छैन । 

त्यसमाथि केही मतदाताले वाग्लेलाई ‘टुरिस्ट’ उम्मेदवारको आरोप लगाएका छन् । तर, यति हुँदाहुँदै पनि उनले दिन प्रतिदिन तनहुँमा राम्रो माहोल बनाइरहेको देखिन्छ । विशेषगरी युवा वर्गले उनको बौद्धिकतालाई अनुमोदन गरेर उनलाई संसद् पठाउने चर्चा यतिबेला चलिरहेको छ । अर्थको क्षेत्रमा उनले बनाएको साखले काम गर्यो भने वाग्लेले चुनाव जित्न सक्छन् । 

निर्वाचन आयोगका अनुसार तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । मंसिरको निर्वाचनमा यस क्षेत्रमा १ लाख २३ हजार ४ सय ९० मतदाता थिए । त्यतिबेला ६६ हजार ७ सय १७ अर्थात ५३ दशमलव ०३ प्रतिशत मत खसेको थियो । जसमध्ये ६ दशमलव ४२ मत बदर भएको थियो । 
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x