राजनीति

गण्डकीमा अविश्वास प्रस्तावमाथिको मतदान भोलि, सांसदहरु फेरि रिसोर्टमा

इकागज |
बैशाख २६, २०७८ आइतबार १६:३२ बजे

फाइल फोटो

पोखरा : गण्डकी प्रदेशसभामा भोलि सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुँदैछ । कांग्रेस नेतृत्वको विपक्षी मोर्चाले २ वैशाखमा संसदमा दर्ता गराएको अविश्वास प्रस्तावमाथि सोमबार मतदान हुन लागेको हो ।

१५ वैशाखकै बैठकमा मतदान हुने कार्यसूची रहेपनि सो बैठकमा विपक्षी दलका एक सांसद अनुपस्थित भएपछि मतदान रोकिएको थियो । २३ वैशाखको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार मतदान हुने गरी कार्यसूची तय गरेको थियो । 


भोलिको बैठकमा सुरुमा चार जना सांसदले बोल्ने छन् । एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी बोल्नेछन् । त्यसपछि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, जनता समाजवादी पार्टीकी धनमाया लामा पोखरेलले बोलेपछि अन्त्यमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ वा उनका प्रतिनिधिले जवाफ दिनेछन् । 

मुख्यमन्त्री सहित प्रदेश सभाका सात जना सांसदमा कोभिड १९ संक्रमण देखिएको छ । कोभिड पुष्टि भएका सांसदहरुले बोल्न नपाएपनि मत भने हाल्न पाउने छन् । सांसदहरुलाई पीपीई लगायत सुरक्षा सामाग्रीको व्यवस्था संसद सचिवालयले गराएको छ । 

गण्डकी प्रदेश सभामा सोमबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पास हुने देखिन्छ । सत्तारुढ एमालेसँग २८ जना सांसद छन् । विपक्षी मोर्चामा भने ३२ जना सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा अविश्वास प्रस्ताव पास हुन ३१ सांसदको आवश्यकता पर्छ । १५ वैशाखमा जस्तै विपक्षीका केही सांसद अनुपस्थित नभए पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने देखिन्छ । 

विपक्षी सांसदहरु फेरि रिसोर्टमा 

अविश्वास प्रस्तावमा मतदान हुने दिन अघि विपक्षी दलका सांसदहरुलाई रिसोर्टमा राखिएको छ । अविश्वास प्रस्तावविरुद्ध सरकारले प्रलोभनमा पार्न सक्ने डरले सांसदहरुलाई लेकसाइडको कुटी रिसोर्ट राखिएको हो । ‘विपक्षी सांसदहरुलाई कुटीमा राखिएको छ, मपनि जाँदै छु,’ माओवादीका एक सांसदले भने । 

यसअघि पनि अविश्वास प्रस्तावमा मतदान नजिकिँदै जाँदा विपक्षी दलका सांसदलाई रिसोर्टमा राखिएको थियो । पछि सदन नै अनिश्चितका लागि स्थगित भएपछि सांसदहरु घर फर्केका थिए ।
 


Author

थप समाचार
x