राजनीति

मान गुमाएका माननीयको ‘अल्टिमेटम’

सिंहदरबारमा दिनभर के-के भयो ? राजीनामा दिन हिँडेका सांसद किन फर्किए ?

आकाश क्षेत्री |
बैशाख २६, २०७८ आइतबार २१:२९ बजे

काठमाडौँ : आइतबार दिउँसो सिंहदरबारस्थित संसद् सचिवालयमा बाक्लो राजनीतिक चहलपहल हुनुपथ्र्यो । तर, ३ बज्नुअघि सचिवालय सुनसान नै देखिन्थ्यो । राजीनामा दिने सांसदहरू दिउँसो २ बजे यहाँ आइपुग्ने सूचना संचारर्मीलाई थियो । ३ बजेपछि मात्रै फाट्टफुट्ट सांसद देखिन थाले । सांसदहरूले आइपर्ने घटनाक्रमको संकेत दिनथाले । संचारकर्मीमाझ कानेखुसी चल्न थाल्यो । 

मान्छेलाई आइतबार भेट्टाउन सात दिन पर्खिनुपर्छ । राजनीतिक दाउपेच देख्‍न भने आइतबार नै पर्खिनु पर्दैन । पछिल्लो समय नेपालमा राजनीतिक घटनाहरू यसरी घटिरहेका छन् कि कोभिड–१९ महामारीलाई नै ओझेलमा पार्न खोज्छन् । तर, यो अदृष्य विषाणुको संक्रमणले निम्त्याएको महासंकट ओझेलमा पर्नै खोज्दैन । यो आइतबार अर्को राजनीतिक दाउपेच देखियो । तर, यसको सुरुवात आजै भएको थिएन । 


१९ बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत दिन चाहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बैठक आह्वान गरिन् । तर, सत्तारुढ एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह प्रधानमन्त्री ओलीलाई टिकाउन चहाँदैनथ्यो । त्यसैले यो समूहका सांसदले २४ बैशाखमा पदबाटै राजीनामा दिने निर्णय गरे । औपचारिक रुपमा राजीनामा बुझाउन नेपाल समूहका सांसद आइतबार ३ बजे सभामुखको कार्यकक्ष अगाडि भेला भए ।

राजीनामा दिन आएका सांसदमध्ये एक थिए, पूर्वमन्त्री योगेश भट्टराई । अनौपचारिक पोसाक (जिन्स र ज्याकेट)मा आएका भट्टराईको अनुहारको रंग उढेको थियो । सधैँजसो हँसिलो देखिने उनको अनुहार त्यति खुलेको थिएन । एउटा सन्दर्भमा संचारकर्मीतिर फर्किँदै सांसद भट्टराईले भने, ‘यहाँ वरिपरि घुम्‍ने आज अन्तिम दिन होला जस्तो छ ।’  

राजीनामा दिन आएका सांसदहरू सचिवालयको गार्डेनमा घुमिरहेका थिए । यतिकैमा सांसद जीवनराम श्रेष्ठले बस्ने व्यवस्था मिलाउन थाले । उनले भने, ‘हाम्रो हलमा गएर बस्दै गरौँ ।’

गार्डेनमा जम्मा भएका सांसद श्रेष्ठको पछिपछि लागेर शिक्षा तथा स्वास्थ्य समितिको कार्यालयतिर लागे । सचिवालय भवन–२ को भुँई तल्लामा रहेको यो समितिका सदस्यसमेत हुन् श्रेष्ठ । यतिबेलासम्म सांसदहरू आउनेक्रम बढिरहेको थियो । 

३ बजेर २५ मिनेटमा राजीनामा दिने समूहका नेता माधवकुमार नेपाल आइपुगे । सांसद श्रेष्ठलाई खोज्दै उनी  समितिको हलसम्म आइपुगेका थिए । सांसदहरू आउने क्रम जारी नै थियो । ३ बजेर ४० मिनेटमा सांसदहरूको समूह शिक्षा समितिको हलबाट निस्कियो । 

सांसदहरूको अनुहारमा अन्योलता देखिन्थ्यो । संचारकर्मीले फटाफट फोटो खिच्न थाले । फेरि संचारकर्मीतिर फर्किएर योगेश भट्टराईले मजाकी पारामा भने– ‘अहिल्यै धेरै फोटो खिचेर बेट्री खर्च नगर्नुस्, आज रातभरि बस्नुपर्छ ।’

भट्टराईले संचारकर्मीसँग मजाक मात्र गरेका थिएनन् । उनले केही संकेत गरिरहेका थिए । आधा घण्टाको अन्तरमा दुईवटा कुरा भनका थिए । आधा घण्टा पहिले ‘आज अन्तिम होला जस्तो छ’ भनेका थिए । फेरि उनले आधा घण्टापछि भने ‘रातभरि खिच्नुपर्छ ।’ समितिको हलमा केही न केही भएको थियो भन्ने कुरा भट्टराईले संकेत गरेका थिए ।

समितिको हलमा केही भएकै रहेछ । सांसदहरूबीच औपचारिक छलफल चलिरहँदा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीका दुतसँग भेट्ने कुरा गरेछन् । यसले राजीनामाको कार्यतालिकालाई नै फरिदियो गरिदियो ।

समिति हलबाट सबै सांसद निस्किएपछि अन्तिममा निस्किए नेता नेपाल ।  सबै सांसदहरू संसद् सचिवालयको भवन–१ तिर लागे । जहाँ अली फराकिलो सार्वजनिक लेखा समितिको हल छ । सांसदहरूले लेखा समितिकै हलमा जम्मा हुने निधो गरेका थिए । तर, नेपाल भने अर्कैतिर लागे । उनी भवन–२ को ४११ नम्बर कोठामा जाँदै थिए । जहाँ राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिकी सभापति निरादेवी जैरुको कार्यकक्ष छ । जैरुले नै नेपाललाई त्यहाँ जान आग्रह गरेकी थिइन् ।

३ बजेर ४६ मिनेट जाँदा प्रधानमन्त्री ओलीका अति विश्वासपात्र विष्णु पौडेल र सुवास नेम्वाङ संसद् सचिवालयमा देखिए । वरिष्ठ नेता नेपाल ३ मिनेट अगाडि मात्र सभापति जैरुको कार्यकक्षतिर लागेका थिए । प्रधानमन्त्रीका दुई विश्वास पात्र र नेपालको भेट त्यहीँ भयो । र, राजनीतिक बार्गेनिङ सुरु भयो । 

प्रधानमन्त्रीका दुत र राजीनामा दिने तयारी गरेका सांसदहरूका नेता नेपालबीच अरु कुनै विषयमा त छलफल भएन होला । भागबन्डा र प्रलोभनमै सिमित भएको यो छलफल ४५ मिनेट चल्यो । वार्ता सकिएपछि तीनै जनाको अनुहारमा कान्ति थिएन । यसले प्रष्ट पारिरहेको थियो, माग र प्रलोभन दुवै पक्षलाई चित्त बुझेन । 

कोठा नम्बर ४११ बाट बाहिँरिदै गर्दा सांसदको राजीनामाबारे राखिएको जिज्ञासामा अर्थमन्त्रीसमेत रहेका पौडेलले झर्किँदै भने, ‘मलाई विश्वास लाग्दैन, म त्यो कुरा पत्याउँदिन त्यो विनाशको बाटो कसले ट्राई गर्छ ?’ 

वार्ता कक्षबाट बाहिरिएपछि नेम्वाङ र पौडेल बायाँतिरको भर्‍याङ हुँदै तल झरे भने नेता नेपाल दायाँतिरको भर्‍याङबाट तल झरे ।

अर्कोतिर राजीनामा दिन आएका सांसदहरू लेखा समितिको हलमा पर्खिरहेका थिए । उनीहरू अन्योलमा थिए । यतिकैमा प्रधानमन्त्रीका विश्वासपात्रसँगको वार्ता टुंग्याएर नेपाल सांसदहरू जम्मा भएको भवन–१को हलतिर लागे । 

नेपाल लेखा समितिको हलमा पुगेपछि ४ बजेर ३६ मिनेटमा सांसदको बैठक सुरु भयो । यतिन्जेल सांसदहरूले आइतबार राजीनामा नदिने प्रष्ट भइरसकेको थियो । यो बैठक साढे २ घण्टा चल्यो । अन्ततः सांसदहरू आफ्नै निर्णयबाट पछाडि हटे । उनीहरूले आइतबार राजीनामा नबुझाउने भए । 

राजीनामा बुझाउन हिँडिसकेका सांसदहरू एउटा सानो वार्तापछि रोकिएका छन् । प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ९ बजेसम्मको सत्तारुढ एमालेलाई पुरानै अवस्थामा फिर्ता गर्ने १४ घण्टे अल्टिमेटम दिँदै संसद् सचिवालयबाट फिर्ता भए । भोलि के होला ? हामीसँग पर्खिने समय छ ।


Author

आकाश क्षेत्री

संसदीय मामिलाको रिपोर्टिङ गर्ने क्षेत्री राजनीतिक संवाददाता हुन्।


थप समाचार
x