राजनीति

ह्वीप उल्लंघन गर्ने खनाल-नेपाल पक्षका सांसदलाई कारबाही नहुन पनि सक्छ : प्रमुख सचेतक भट्टराई

इकागज |
बैशाख २७, २०७८ सोमबार १८:२४ बजे

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले विश्वासको मत माग्दा प्रतिनिधि सभाको विशेष अधिवेशनमा अनुपस्थित भएका माधव नेपाल-झलनाथ खनाल पक्षका २८ जना सांसदलाई कारबाही नहुन पनि सक्ने संकेत पार्टीले गरेको छ ।

पार्टी एकतालाई कायम राख्दै ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई कारबाही नहुन पनि सक्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘उहाँहरु (अनुपस्थित माधव पक्षका सांसद) हरुलाई के गर्ने भन्‍ने सम्बन्धमा पार्टी बैठकले निर्णय गर्छ,’ संसदमा विश्वास मत हासिल गर्न नसकेलगत्तै प्रमुख सचेतक भट्टराईले इकागजसँग भने, ‘सहमतिको प्रयास हुन पनि सक्छ, कारबाहीको प्रक्रिया अघि बढ्न पनि सक्छ ।’


व्हीप उल्लंघन भएर माथिल्लो तहमा कम्प्रोमाइज (सम्झौता) भयो भने ठीकै हुने भट्टराईले बताए । ‘हामीले पनि पार्टी विभाजित नहोस् भन्ने चाहेको हो,’ उनको भनाइ थियो, ‘पार्टी विभाजन रोक्नुपर्छ भन्‍ने प्रयासस्वरुप कारबाही नहुन पनि सक्छ, अब पार्टीले कस्तो निर्णय गर्छ हेरौं ।’

आज भएको मतदानमा माधव नेपाल पक्षका २८ सांसद अनुपस्थित थिए । उनीहरुले हिजो आइतबार दिउँसो सामूहिक राजीनामा दिने धम्की दिंदै आएका थिए । आज सोमबार बिहान नौ बजेसम्मको अल्टिमेटम दिएर पार्टी अध्यक्ष ओलीलाई ‘सच्चिने मौका’ दिएको बताउँदै आएका माधव समूहले एकाएक सामूहिक राजीनामा नदिने, बैठकमा पनि उपस्थित नहुने निर्णय गरेको थियो ।

यसअघि प्रमुख सचेतक भट्टराईले विश्वासको पक्षमा अनिवार्य मत हाल्न ह्वीप जारी गरेका थिए । ह्वीप उल्लंघन गरे एमालेको विधान, संसदीय दलको विधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम कारबाही हुने चेतावनी दिइएको थियो । ‘व्हीपचाहिं उल्लंघन भयो’, भट्टराईको सक्षिप्त प्रतिक्रिया थियो । 


Author

थप समाचार
x