राजनीति

जसपाले वैकल्पिक सरकारबारे भोलिसम्म एकीकृत निर्णय गर्ने

इकागज |
बैशाख २९, २०७८ बुधबार १९:२४ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा) सत्ता समीकरणबारे भोलिसम्म एकीकृत निर्णय गर्ने भएको छ । पार्टी कार्यालय बालकुमारीमा बसेको शीर्ष नेताहरूको बैठकले सत्ता समीकरणबारे भोलिसम्म थप छलफल गरेर एकीकृत निर्णय गर्ने निष्कर्ष निकालेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए । 

'भोलिसम्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौ । विभिन्‍न विकल्पमा छलफल गरेर एकीकृत विचार बनाउने प्रयत्‍नरत छौं,'  डा. भट्टराईले भने, 'अहिले निष्कर्षमा पुगिसकेका छैनौं । भोलिसम्म निष्कर्षमा पुग्छौं । एउटै धारणा बनाउने र राष्ट्रिय राजनीतिमा योगदान गर्ने ढंगले हामी अगाडी बढीरहेका छौं ।'


पार्टीमा वैकल्पिक सरकार गठनका विषयमा विभिन्‍न विकल्पबारे विचार आइरहेको र छलफल भइरहेको जानकारी उनले दिए । लोकतान्त्रिक पार्टी भएकाले फरक-फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी रहेकाले भोलि विहिबार सम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिए । 

जसपामा सरकारबारे दुई धार छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष भट्टराई समूह वैकल्पिक सरकार बनाउनु पर्ने पक्ष छ । अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह वर्तमान सरकारलाई नै निरन्तरता दिनु पर्ने पक्षमा छ

प्रतिनिधि सभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई बिहीबार साँझसम्मको समय दिएकी छन् । 


Author

थप समाचार
x