राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण :

पूर्व गृहमन्त्री बालकृष्ण खाण निवासबाटै पक्राउ

इकागज |
बैशाख २७, २०८० बुधबार १०:६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मैजुबहालस्थित खाण निवासबाट उनलाई पक्रेको विशेष स्रोतले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण र उनकी श्रीमती मञ्जु खाणको नाम पनि मुछिएको छ । 

सचिव टेकनारायण पाण्डेको बयानपछि खाणलाई पक्रेको हो । खाण गृहमन्त्री हुँदा पाण्डे गृहसचिव थिए ।


यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । 

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । 

उक्त घटनामा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् । 
 


Author

थप समाचार
x