राजनीति

जसपाको निर्णय कुर्दै खनाल-नेपाल समूह

इकागज |
बैशाख ३०, २०७८ बिहीबार ९:२७ बजे

काठमाडौँ : नेकपा एमाले झलनाथ खनाल-माधवकुमार नेपाल समूहले संविधानविद् र कानुनविद्‍हरूसँग परामर्श गरेको छ । आफुले लिने निर्णयबारे राजनीतिक तथा संवैधानिक जटिलता पहिचान गर्न परामर्श गरेका हुन् ।

सामूहिक निर्णय लिने भएकाले संविधानविद् र कानुनविद्‍हरूसँग परामर्श गरेको नेपाल निकट सांसद विरोध खतिवडाले बताए । 'सांसदहरूले सामूहिक निर्णय लिने भएपछि केही जटिलता होला कि भनेर परामर्श गरेका हौँ' खतिवडाले भने 'हामी जे गर्छौँ सामूहिक नै गर्छौँ ।'


खनाल-नेपाल समूहले बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्‍वासको मत दिन नगएपछि एमालेभित्र विवादले अर्को रुप लिएको छ । विश्‍वासको मत लिनु अगावै सामूहिक राजीनामाको विकल्प बनाएको उक्त समूहले अन्तिम समयमा आएर राजीनामा नदिने बरु मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको थियो । उक्त समूहले अहिले कांग्रेस र माओवादी केन्द्रसँग मिलेर ओली सरकारको विकल्प खोज्‍न जनता समाजवादी पार्टी (जसपा)को निर्णय पनि कुर्दैछ ।

जसपाले निर्णय गर्दिए आफूहरूलाई सजिलो हुने खनाल-नेपाल समूहको बुझाइ छ ।  जसपामा उपेन्द्र यादव-डा. बाबुराम भट्टराईको समूह केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्‍नुपर्ने  पक्षमा छन् । महन्थ ठाकुर भने ओलीलाई सहयोग गर्ने पक्षमा छन् । जसपाको विवादले नै बैशाख २७ गते प्रधानमन्त्री ओलीलाई दिने विश्‍वासको मतमा ठाकुर समूह तटस्थ बस्यो भने यादव-भट्टराई समूहले विपक्षमा मतदान गरे । यादव-भट्टराई समूह अहिले कांग्रेस र माओवादी केन्द्रसँग मिलेर सरकार बनाउन प्रयासरत छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बैशाख ३० गते राति ९ बजेभित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज सकिँदैछ ।
 


Author

थप समाचार
x