राजनीति

टोपबहादुरको मुस्कान फेसबुकमा ट्रोल

अतिन आचार्य |
जेठ १, २०८० सोमवार २०:१३ बजे

काठमाडौँ- नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी आइतबार बुढानिलकण्ठस्थित पासीकोटबाट पक्राउ परे । उनलाई प्रकाउ गरेलगत्तै प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेमा राखियो ।

आज (सोमबार) सरकारी वकिलको कार्यालयमा रायमाझी उपस्थिति भए । उनलाई जिल्ला अदालत काठमाडौँले तीन दिनका लागि म्याद थप्ने अनुमति पनि दिएको छ ।


रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाहरूलाई सहयोग गरेको अनुसन्धानमा खुलेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई सरकारी वकिल कार्यालय परिसर बाहिर पत्रकार र फोटो पत्रकारको उत्साहजनक उपस्थिति थियो ।

रायमाझी बबरमहलस्थित वकिलको कार्यालयमा प्रहरीको निलो रंगको भ्यानमा पुगेका थिए । उनका अघि-पछि प्रहरी अधिकारी थिए । प्रहरीद्वारा घेरिएका उनी हाउभाउले हिरासतबाट नभइ घरबाट आएका जस्ता देखिन्थे । किनभने हिरासतमा भएका मान्छे केही न केही अनुहार झुकेको वा गम्भीर भएका जस्ता हुन्थे । तर, उनी त्यस्तो मुद्रामा थिएनन् । आफन्तका वा पार्टीका कार्यकर्ताको मुद्दा प्रक्रिया बुझ्न पुगेको जस्तो लाग्थ्यो ।

प्रहरीको गाडीबाट झरेपछि उपस्थित पत्रकार वा शुभेच्छुकप्रति लक्षित गरी हात हल्लाए । उनी प्रहरी कडा सुरक्षा निगरानीमा थिए । मुस्कानसहित हात हल्लाएर अभिवादन गरिरहेका थिए । सामाजिक सञ्‍जालमा उनी भाइरल बने । हाँसोसहितको तस्विरलाई आलोचना पनि भएको छ । आलोचना मात्र बनेको छैन उनी ट्रोल पनि बनेका छन् ।

आफ्ना समर्थकलाई ढाडस दिएको जस्तो लाग्थ्यो । उनको मुहारमा छाएको मुस्कानले अपराध नगरेको तर, केही गरेको भनेर जनाइरहेको थियो ।

रायमाझीविरुद्ध यतिखेर गम्भीर आरोप लागेको छ । सरकारी वकिल कार्यालयमा मुस्कानसहित हात हल्लाएको देख्दा सबथोक सामान्य जस्तो लाग्थ्यो । सब ठीकठाक चलेको छ । वरिपरिको माहोल पनि त्यसै सुन्दर र मोहयुक्त जस्तो लाग्थ्यो ।

कतै उनलाई जबर्जस्ती फसाएर राजनीतिक र सामाजिक जीवनलाई ओझेल बनाउन खोजेको जस्तो लाग्थ्यो । उनी लामो समयको जनयुद्धकालीनलाई विश्राम दिँदै शान्तिपूर्ण राजनीतिमा आए ।

सामाजिक सञ्जालमा यतिखेर मुस्कानसहितको फोटो भाइरल बनेको छ । भाइरल मात्र बनेको छैन । उनको फोटो राखेर आलोचना पनि भइरहेको छ ।

राजनीतिशास्त्री विष्णु सापकोटाले रायमाझीप्रति लक्षित गर्दै ट्वीटमा भ्रष्टाचारमा प्रहरीले समाउँदा पनि ‘क्रान्ति’ गर्दा समातिए जस्तो सोच्न थालेको लेखेका छन् ।

'यिनीहरू यति गहिरोसँग पतन भएका रहेछन् कि भ्रष्टाचारमा प्रहरीले समाउँदा पनि ‘क्रान्ति’ गर्दा समातिए जस्तो सोच्न थालेछन्,' उनले भनेका छन्, 'त्यस मानेमा टोपबहादुर आजका सयौं राजनीतिकर्मीका एक प्रतिनिधि पात्र मात्र हुन् ।'

'अलिकति पनि ग्लानि छैन, युद्ध जितेर आएको माओवादी जत्तिकै फुर्ती छ भ्रष्टाचारमा मुछिएर प्रहरीले समातेर अदालत पुर्याउँदा धरी !' केदार सुवेदी ट्वीटरमा लेख्छन् ।

पत्रकार तथा कवि अनमोल मणीले टोपबहादुर साँच्चै बिमार रहेको बताएका छन् । ‘यिनको हाउभाउ देखेसी मलाई त्यस्तै लाग्यो ! यिनको उपचार जरुरी छ,’ उनले भनेका छन् ।

पत्रकार रामनाथ खनालले फेसबुकमा कीर्तेहरू कीर्ति राखे झैं मुस्कुराइरहेको लेखेका छन् । उनले अगाडि लेखेका छन्, 'शरम पचेपछि हरामीमा कसले जितोस् ? धत् !'

ट्वीटर ह्ययाण्डमा घिमिरे संसारले लेखेका छन्, 'नेपालमा ठूलो भ्रष्टाचार गरेर नोबेल पुरस्कार प्राप्त गरेपछि प्रसन्न मुद्रामा टोपबहादुर रायमाझी । बधाई छ ब्रो । जेल यात्रा सफल रहोस् ।'

उनी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ तेस्रो मुलुक पठाउने अभियोगमा पक्राउ परेका हुन् । प्रहरी हिरासतमा रहेकाले उनको नाम खुलाएका थिए ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका गिरोहसँग विभिन्न समयमा घुम्न गएका तस्बिर सार्वजनिक भएका थिए । उनकै छोरा सन्दीप रायमाझीको नाममा करोडौँ रुपैयाँको चेक काटिएका तस्बिर सार्वजनिक भए ।

हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,  सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।

त्यसैगरी सोही प्रकरणमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका-७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्ववडाध्यक्ष सागर राई, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् ।

यस प्रकरणमा फरार सूचीमा रहेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा र नेपाली कांग्रेसका सांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हिरासतमा रहेका इन्द्रजित राईका छोरा निरजसमेत फरार रहेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने प्रलोभनमा गिरोहले पीडितसँग १० देखि ५० लाखसम्म रकम उठाएको उजुरी प्रहरीमा परिसकेको छ । एक सयभन्दा बढी पीडितले प्रहरीकामा निवेदन दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झापा, सुनसरी, मोरङ, कास्की, अर्घाखाँची र दाङ लगायतका मानिसहरू पीडित बनेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x