राजनीति

टीकापुर घटना नरसंहार थियो, रेशम चौधरीलाई आममाफी दिन मिल्दैन : राष्ट्रिय जनमोर्चा

इकागज |
जेठ १२, २०८० शुक्रवार १२:२५ बजे

काठमाडौं– राष्ट्रिय जनमोर्चा पार्टीले टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई ​आममाफी दिन सरकारले अगाडि बढाएको प्रक्रियाप्रति असहमति जनाएको छ । राष्ट्रिय जनमोर्चाले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त घटनालाई नरसंहारको संज्ञा दिएको छ । 

आगामी जेठ १५ गते सरकारले गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिइ कैद मिनाहा गराउने प्रक्रिया अगाडि बढाएको छ । जनमोर्चाले उक्त प्रक्रिया रोक्न माग गरेको छ । 


चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्दै जाने ठहर गर्दै जनमाेर्चाले लेखेको छ,  ‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो ।’

टीकापुर घटना राजनीतिक नभएर फौजदारी भएको जनमोर्चाको भनाइ छ । ‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो,’ पार्टी अध्यक्ष चित्रबहादुर केसले जारी गरेको वक्तव्यमा भनिएको छ । 

चौधरीलाई आममाफी दिने निर्णय पछि सरकारलाई महंगो पर्ने केसीले बताएका छन् ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारूहट–थारूवानको आन्दोलन हिंसात्मक बन्दा एक नाबालकसहित ७ जना प्रहरीको ज्यान गएको थियो । उक्त घटनाको प्रमुख योजनाकार चाैधरीलाई करार गरी सर्वोच्च अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको छ । 
 


Author

थप समाचार
x