राजनीति

हलेसीको ब्रान्डिङ गर्न सरकार लागिपरेको छ : मन्त्री किराती

इकागज |
जेठ २४, २०८० बुधवार २२:६ बजे

फाइल फोटो

खोटाङ - संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकास गर्न सरकार लागिपरेको बताएका छन् । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको चौतर्फी विकास तथा प्रवर्द्धनका लागि सरकारले यस आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममा नै समावेश गरेर अगाडि बढाएको उनले जानकारी दिए । 

मन्त्री किरातीले हलेसी खोटाङ जिल्लाको मात्र नभई पूर्वी नेपालकै सम्भावना बोकेको त्रिधार्मिकस्थल भएकाले यसका चौतर्फी विकासका लागि झापाको काँकडभिट्टादेखि योजना बनाएर अगाडि बढाउनुपर्ने बताए । “हलेसीको विकासका लागि मुलुकको अन्य ठाउँमा समेत प्रचार–प्रसार गर्न आवश्यक छ । आगामी दिनमा नेपाल छिर्ने मुख्य नाका काँकडभिट्टा, चतरालगायतका ठाउँमा समेत प्रचार–प्रसारका लागि होडिङबोर्ड राख्नुुपर्ने अवस्था देखिएको छ”, उनले भने, “हलेसीमा खुला सांस्कृतिक सङ्ग्राहलय निर्माण गर्न सरकारले तयारी गरेको छ । विभिन्न मुलुकबाट हलेसी आउने पाहुनालाई सिधा सम्पर्कमा भ्रमण गराउन सकिने गरी योजना निर्माण गर्नु आजको आवश्यकता  हो । यसका लागि मन्त्रालयले गर्ने सहयोग गर्छ ।”


पर्यटकीय क्षेत्रको अनुगमन भ्रमणका लागि आज खोटाङ आएका मन्त्री किरातीले त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासका लागि ब्रान्डिङ गनुपर्नेमा जोड दिनुभयो । उहाँले हलेसी र किराँत समुदायको उद्गमस्थल तुवाचुङको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिनुभयो । 

हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको भेटघाट कार्यक्रममा हलेसी विकास समितिका अध्यक्ष एवं पूर्वसांसद टंक राईले त्रिधार्मिकस्थल हलेसीको विकासले खोटाङको मात्र नभई मुलुकै आर्थिक समृद्धिमा टेवा पुग्ने मन्त्री किरातीलाई जानकारी गराए । नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्षसमेत रहेका अध्यक्ष राईले हलेसी मन्दिर तथा गुफा नजिकैबाट मध्यपहाडी लोकमार्गको सडक भएकाले हलेसी गुफा तथा मन्दिर जोखिममा रहेको जानकारी दिए । 

नगरप्रमुख विमला राईले मन्त्री किरातीलाई स्वागत गर्दै यस क्षेत्रको त्रिधार्मिकस्थल हलेसीको समग्र विकासका लागि आवश्यक पहल गरिदिन आग्रह गरिन् । उनले हलेसीमै बुनिएको खाँडीको कपडा चिनोस्वरुप मन्त्री किरातीलाई प्रदान गर्नुहुँदै स्थानीय उत्पादनमा समेत नगर लागेको जानकारी गराए । रासस


Author

थप समाचार
x