राजनीति

खेलकुद र शिक्षालाई सँगसँगै लैजानुपर्छ : पूर्वमेयर शाक्य

इकागज |
असार २३, २०८० शनिबार १८:१२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय खेलकुद महासंघ काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित राष्ट्रिय प्रशिक्षक र प्रशिक्षार्थीहरूको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले तत्कालीन अवस्थामा आफूहरू युवा संघमा हुँदा खेल क्षेत्रको विकासका लागि खेलकुद मन्त्रालयको माग गरेको बताए । ‘हामी युवा संघमा भएको बेला सरकारले खेलकुद क्षेत्रलाई कुनै महत्व दिँदैन थियो,’ शाक्यले भने, ‘हाम्रै पहलमा खेलकुद मन्त्रालय स्थापना भयो, अहिले त प्रदेश र स्थानीय तहमा पनि खेलकुदलाई महत्व दिएको छ ।’


उनले खेलकुद र शिक्षालाई सँगसँगै लैजाँदा मात्र देशमा स्वास्थ्य र सक्षम नागरिकको उत्पादन हुने बताए । उनी काठमाडौँ महानगरको मेयर भएको बेला प्रत्येक वर्ष बहुउदेश्यीय मार्सल आर्ट्स केन्द्रका लागि १ करोड बजेट दिने गरेका थिए । उक्त केन्द्रमा अहिले एक सय हाराहारी बच्चाहरूले जिन्म्यास्टिक प्रशिक्षण लिइरहेका छन् ।

सम्मान कार्यक्रममा केन्द्रका प्रशिक्षार्थीहरूले विभिन्न खेल कौसल देखाएका थिए । उनीहरूले जिन्म्यास्टिकका विभिन्न विद्याका कलाहरू र सांस्कृतिक नृत्यहरू पनि देखाएका थिए । 

महासंघले ७० जना प्रशिक्षार्थीहरूलाई सम्मान पत्र दिए । केन्द्रसँगको समन्वयमा आयोजना भएको उक्त कार्यक्रममा प्रशिक्षक र अन्य विभिन्न समयमा राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलेका खेलाडी तथा प्रशिक्षकहरूलाई समेत सम्मान पत्र प्रदान गरेको थियो ।

नेकपा एमाले निकट खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले पनि शिक्षा र खेलकुद सँगसँसै हुनुपर्नेमा जोड दिए । उनले एमाले अहिले खेलकुद र शिक्षालाई एकाकार गरेर लैजाने नीतिमा रहेको बताए । उनले विद्यालय र विश्वविद्यालयमा समेत खेलकुद राख्नुपर्ने बताए । उनले भने, ‘खेल र शिक्षालाई एउटा युवाले राष्ट्रको नाम राख्ने र आफ्नो जीवनलाई समेत सहज रूपमा अगाडि बढाउँछ ।’

त्यस्तै काठमाडौँ महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले केन्द्रलाई वडाले वार्षिक २ लाख दिने बताए । अहिले नेपालको नीति अस्पताल बनाउने, स्कुल बनाउने मात्र भएको भन्दै उनले खेलकुदलाई अझै पनि छायाँका रूपमा हेरिएको बताए । 

उनले मानिसलाई कसरी स्वास्थ्य बनाउने भन्ने नीति आवश्यक भए पनि विरामीलाई कसरी उपचार गर्ने भन्नेमा केन्द्रित रहेको बताए । अध्यक्ष रिजालले वडाले यस केन्द्रका उत्कृष्ट केही खेलाडीहरूलाई निःशुल्क रूपमा विभिन्न विद्यालयमा अध्ययन गराउने समेत बताए ।

खेलकुद महासंघका काठमाडौँ शाखा एवं केन्द्रका अध्यक्ष राजेश्वर मान स्थापितले केन्द्रमा आफ्नो नानी बाबुहरूलाई पठाएकोमा अभिभावकहरूलाई धन्यवाद दिए । आफूहरूले यस केन्द्रबाट उत्पादित खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसमेत बनाउने उद्देश्य राखेको भन्दै उनले अभिभावकलाई त्यसरी नै आफ्नो बच्चालाई साथ दिन आग्रह गरे ।


Author

थप समाचार
x