सत्तापक्षका सांसदहरूको माग : सुन तस्करी नियन्त्रणमा संसदीय समितिहरूले प्रभावकारी कदम चाल्नुपर्छ
काठमाडौँ- सत्तारूढ राष्ट्रिय सभाका सांसदहरूले पनि सुन तस्करी नियन्त्रणमा संसद् र संसदीय समितिहरूले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
सत्तारूढ नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद कृष्णप्रसाद पौडेल, जनता समाजवाद पार्टी, नेपाल सांसद मृगेन्द्रकुमार सिंह यादवलगायतका सांसदहरूले सुन तस्करी, ललिता निवासलगायतका भ्रष्टाचार काण्डहरूको तथ्य पत्ता लगाई बाहिर ल्याउन संसद् र संसदीय समितिहरूले कडा कदम चाल्नुपर्ने बताएका हुन् ।
शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारूढ कांग्रेस सांसद पौडेलले अन्तर्राष्ट्रिय जगतमा नै नेपालको अपमान हुने गरी चर्चित सुनकाण्ड बाहिर आएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न संसदले प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
पछिल्लो सुन काण्डले झनै मुलुकको मान, सम्मान घटेर जाने सम्भावना बढेर गएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरोकारवाला सबै पक्षसँग बसेर छलफल गर्न आवश्यकता रहेको समेत उनले बताए ।
सांसद पौडेलले भने, ‘यो चर्चित सुनकाण्ड, ललिता निवास आदि इत्यादि । करप्सन र सुशासन भनेको यो ठीक अपोजिट कुरा हो । हामीले सुशासन कायम गर्न नसक्ने हो भने यो त हरेक दिन बढेको छ । अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको मान, सम्मान घट्ने सम्भावना बढेर गएको छ । त्यसप्रति पनि हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ ।’
सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद मृगेन्द्रकुमार सिंह यादवले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुनु मुलुकका लागि लाजमर्दो विषय भएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि सम्बन्धित पक्षमाथि कडा छानबिन गर्नुपर्ने बताए । उनले सुन तस्करी, ललिता निवासलगायतको छानबिन गरी दोषीलाई उम्कन नदिने गरी अनुसन्धानको कामलाई अघि बढाउनुपर्ने बताए ।
यता, सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले मौद्रिक नीति र वित्तीय नीतिमा तालमेल नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति वित्तीय नीतिसँग तालमेल नहुनु मुलुकका लागि गम्भीर विषय भएको उल्लेख गर्दै त्यस विषयमा सम्बन्धित पक्षसँग संसद् र संसदीय समितिले छलफल गर्नुपर्ने बताए ।
सांसद शर्माले भने, ‘अलि पहिलादेखि एउटा समस्याका रूपमा रहेको यो मौद्रिक नीति र वित्तीय नीति जो छ । वित्तीय नीतिको पूरक भएर आउनुपर्ने मौद्रिक नीति । त्यसले एउटा गम्भीर समस्या देखापरेको देखिन्छ । त्यसकारण यी दुवै पक्षका सरोकारवालाहरूलाई बोलाएर छलफल गर्नुपर्छ । किनभने यो सुशासनसँग जोडिन्छ । एउटा कार्यक्रम यो राख्नुपर्छ ।’
सांसद शर्माले विभिन्न आयोजनाहरूमा समेत भ्रष्टाचार मौलाएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया