राजनीति

भ्रष्टाचार र तस्करीकाविरुद्ध जेहाद छेड्ने कदम रोकिनेवाला छैनः प्रधानमन्त्री

इकागज |
साउन १४, २०८० आइतबार १७:१८ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र तस्करीका बिरुद्ध जेहाद छेड्ने कदम नरोकिने बताएका छन् । 

आइतबार समाजवादी मोर्चामा आबद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार र तस्करीका बिरुद्ध जेहाद छेड्ने क्रम नरोकिने बताएका हुन् । उनले सरकारले भ्रष्टाचार, तस्करी, राज्यको सम्पती दोहन, शोषण र बेथितिहरुका बिरुद्धमा जेहाद छेडिरहेको बताए । यहाँले सरकारको यो कदम निरन्तर अगाडी बढ्ने स्पष्ट पारे । उनले आगामी दिनमा भ्रष्टाचारका अरु फाइलहरु पनि खुल्दै जाने बताए । प्रधानमन्त्री दाहालले सरकारले थालेको यस लडाइँमा आम जनताको पनि साथ आवश्यक भएको भन्दै साथ दिन आग्रह पनि गरे । 


उनले भने, – ‘जसरी अहिले भ्रष्टाचार बिरोधी या राज्यका सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने जो बेथितिका बिरुद्ध या तस्करीका विरुद्ध एउटा जेहाद छेडिएकै छ । म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु, यो कदम यहीँ रोकिनेवाला छैन । यो कदम निरन्तर अगाडी बढ्नेवाला छ । नेपाल राष्ट्रको एकताको निम्ति, समाजवादको आधार निर्माणको निम्ति, सामाजिक न्यायको निम्ति, समृद्धि र विकासको निम्ति यो लडाइँ नेपाली जनताले जित्नैपर्दछ । यो लडाइँ नजितेसम्म हामीले परिकल्पना गरेको, हामीले सपना देखेको समाजवादको आधार तयार हुनै सक्दैन । त्यसकारण यो कुनै आवेगको कुरा होइन । यो कुनै राजनीतिक स्टन्टको कुरा पनि होइन् । यो नेपाली समाज र नेपाल राष्ट्रको, आम नेपाली जनताको वृहत्तर हित जो हिजो युद्धमा या आन्दोलनमा नेपाली जनताले त्याग र तपस्या, वीरता र बलिदानका किर्तिमान कायम गरेका थिए । ति हजारौँ सहिदहरु, बेपत्ता योद्धाहरु, घाइते, अपांगहरु र लाखौँ, करोडौँ जनताका सपना साकार पार्ने लडाइँ हो । यो लडाइँ शुरु भएको छ । मलाई खुशी छ, तपाईहरु जस्तो युवा, विद्यार्थीहरुले यो विषयमा, यो पक्षमा सरकारलाई, समाजवादी मोर्चालाई र गठबन्धनलाई जुन समर्थन गर्नुभएको छ, आउने दिनमा हेर्दै जानुहोला अरु फाइल खुल्दै जानेवाला छन् । र त्यतिबेला तपाईहरुको समर्थनको महत्व निकै ठुलो हुनेवाला छ । ग्राउन्डमा समर्थन प्राप्त नभइकन, एक्लै सरकार वा प्रधानमन्त्रीले मात्रै जितिने लडाइँ यो होइन । आम जनतापनि साथमा भएपछि मात्रै यो ब्याटल हामीले जित्नेछौँ ।’

प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारको बिरुद्ध लडाइँ शुरु गरेपछि गठबन्धनमा फाटो पार्ने कसरत गरिएको बताए । उनले समाजवादी मोर्चाका नेताहरुका बीचमा पनि भ्रम सिर्जना गर्ने र आशंका उत्पन्न गर्ने षड्यन्त्र भइरहेको भन्दै आफूहरु एकतावद्ध भएर षड्यन्त्रलाई परास्त पार्ने बताए ।  उनले मोर्चामा विश्वासको धरातललाई अझ बलियो बनाउँदै अगाडी बढ्ने उल्लेख गरे । 

उनले भने, – ‘हामीले भ्रष्टाचार बिरोधी या बेथिति र बिसंगतिका बिरुद्ध लडाइँ शुरु गरेपछि गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चा बनिसकेपछि समाजवादी मोर्चाका नेताहरुका बीचमा पनि भ्रम सिर्जना गर्ने, आशंका उत्पन्न गर्ने अनेक खालका कसरतहरु भइराखेका छन् । तर हामी ति सबै षड्यन्त्रहरुलाई परास्त गर्दै हाम्रो आफ्नो एकतालाई अझ बलियो पार्दै एकअर्का प्रतिको विश्वासको धरातललाई अझ बलियो बनाउँदै अगाडी बढ्नेमा हामी नेतृत्व पंक्ति दृढ भएको कुरा पनि म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु । सरकार अहिले जनताको साथमा, सरकार अहिले युवा, विद्यार्थीहरुको साथमा, सरकार अहिले नेपाल राष्ट्रको बृहत्तर हितको पक्षमा लडाइँ लड्दैछ तपाईहरुको साथ आओस् ।’

प्रधानमन्त्री दाहालले मंगलवार (पर्सि) बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने बताए । ऐनले शिक्षा क्षेत्रका समस्याहरुलाई समाधान गर्ने उनको भनाई छ । उनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षपनि मंगलवार सम्ममा नियुक्त हुने बताए । 

उनले भने, ‘म आज तपाईहरुको अगाडी प्रधानमन्त्रीको हैसियतले भन्न चाहान्छु, पर्सि मंगलबार मन्त्रिपरिषद्को बैठकबाट पहिलोचोटी संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ । मलाई लाग्छ यो निकै गुणात्मक प्रकृतिको कदम हुनेछ । र यसले शिक्षा क्षेत्रमा अहिले देखा परेका थुप्रै समस्याहरुलाई सम्बोधन गर्ने तागत त्यो ऐनले राख्नेछ । दोस्रो कुरा, त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष खालि भएको धेरै समय भयो । त्यो पनि पर्सिसम्म आयोगको अध्यक्ष तपाईहरुले पाउनुहुनेछ ।’

उनले शिक्षा क्षेत्रमा खालि रहेका ठाउँहरुमा पदपुर्ति गर्ने बताए । उनले समाजवादी शिक्षाको शुरुवात गर्ने नयाँ प्रक्रिया अगाडी बढाइने पनि बताए । 


Author

थप समाचार
x