राजनीति

सूचना प्रविधिको विकास सरकारको प्राथमिकतामा छ : मन्त्री शर्मा

इकागज |
साउन १५, २०८० सोमबार १६:२५ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि राष्ट्रिय प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन् ।​ सोमबार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

उनले सरकारले व्यवस्थित रूपमा ऐन कानुनहरूलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरी मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने बताइन् । उनले सूचना प्रविधिको विकासका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताइन् ।


मन्त्री शर्माले अब नेपालबाट विदेशमा श्रमिक नभएर सेवा निर्यात गर्न सक्नुपर्ने जिकिर गरिन् । उनले यसका लागि सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताइन् । उनले विज्ञहरूको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रमको परिमार्जन गरी अघि बढ्ने उल्लेख गरिन् ।

संघीय निजामती ऐनमा आईटी समूह राख्नका लागि प्रयास भइरहेको उनकाे भनाइ छ । मन्त्री शर्माले सरकारी सेवालाई नै आधुनिक बनाउने बाहेक सरकारले नयाँ कार्यक्रममार्फत पूर्वाधार निर्माण तथा सेवाको गुणस्तर बढाउन काम गरिरहेको उल्लेख गरिन् ।


Author

थप समाचार
x