सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिन्छौं : उपाध्यक्ष श्रेष्ठ
काठमाडाैँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सोह्रौँ योजना कृषि क्षेत्रलाई प्राथमिकता दिने गरी बनाउने जानकारी गराएका छन् ।
सोमबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यक्ष श्रेष्ठले सोह्रौँ योजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएका हुन् । त्यसका लागि यस आर्थिक वर्षको बजेटबाट नै तयारी थालिएको बताए । उनले यो आर्थिक वर्षको बजेटमा उत्पादन र रोजगारीका विशेष कार्यक्रम घोषणा भएको उल्लेख गर्दै एउटा पालिकामा दुई वटाका दरले कार्यक्रम अगाडि बढाउने बताए ।
आगामी वर्षहरूमा देशैभरी कृषि, पशुपन्क्षी पालन, जडिबुटी, साना घरेलु, लघु र मझौला उद्योगहरूका कार्यक्रमहरूमा जोड दिइने बताए । त्यस्तै होटल, एग्रो, रिसोर्ट हरू र सूचना प्रविधिमा आधारित सम्पूर्ण उद्योगहरूलाई नेटवर्किङ गरेर ठूलठूला कार्यक्रमहरू खोल्ने कार्यक्रमहरू राखिने उनले बताए । उनले सामूहिकतालाई जोड दिने गरी अगाडि बढ्नुपर्ने पनि बताए ।
उपाध्यक्ष श्रेष्ठले कृषिको उत्थान भयो भने उद्योगको पनि उत्थान हुने र अर्थतन्त्रमा विकास हुने बताए ।
उपाध्यक्ष श्रेष्ठले भने, ‘देशलाई अगाडि बढाउन सक्ने योजना दिनका लागि कृषिको अहिलेको हालत जे छ, त्यसलाई हामीले ड्राइभ नदिइकन हामी अन्त केही गर्न सक्दैनौँ । अर्थतन्त्रलाई कृषि, उद्योग, सेवा क्षेत्र भनेर तीन भागमा बाँडिन्छ । हाम्रो मुलुकमा कृषिको विकास नभएसम्म उद्योगको विकास हुँदैन । किनभने उद्योगधन्दाहरूको कच्चा पदार्थ दुई वटा स्रोतबाट आउँछन् ।'
उनले विकास निर्माणका काम गर्न नीति गत रुपमा पनि समस्याहरू आउने भन्दै त्यसको समाधान गर्नुपर्ने अवस्था आएको बताए । यसका लागि विकास विधेयक तर्जुमा भइराखेको उनले बताए । उनले राष्ट्रिय योजना आयोगले विकास आयोजनाहरूको अनुगमन गरेर दिएको प्रतिवेदन समेत कार्यान्वयन नहुने गरेको जानकारी गराए ।
उनले राष्ट्रिय योजना आयोगले आयोजना वर्गीकरण र आयोजना बैंकको कार्यविधि ड्राफ्ट गरेर मन्त्रिपरिषदमा पठाएको र मन्त्रिपरिषदबाट पारित हुने क्रममा रहेको बताए । सो कार्यविधि पारित भएमा स्थानीय तह, प्रदेश र संघले विकास निर्माणको कुन–कुन काम गर्ने भन्नेमा प्रष्ट हुने जिकिर गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया