राजनीति

'काठमाडौँको मुख्य सडकमै ढल बग्छ, व्यवस्थापनमा ध्यान दिऔँ'

इकागज |
साउन १६, २०८० मंगलबार १७:४४ बजे

काठमाडौँ- ​सांसदहरूले काठमाडौँ उपत्यकाका मुख्य सडकहरूमा नै ढल बग्ने समस्याको व्यवस्थापन हुनुपर्ने बताएका छन् ।​ मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरूले काठमाडौँ उपत्यकाका मुख्य सडकहरूमा ढल व्यवस्थापनको चुनौती रहेको बताएका हुन् ।

उनीहरूले मुख्य सडकमा नै खोला र ढलहरू जोडिएको साना बालबालिकाहरू बगाउने समस्या सिर्जना भइरहेको बताए । साउन ७ गते काठमाडौँको रानीवनस्थित सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका विधान आलेमगर बेपत्ता भएको घटनालाई लिएर सांसदहरूले फेरि यस्ता घटना हुन नदिन सचेत गराए ।


बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले भारी वर्षा हुने बित्तिकै काठमाडौँका सडकहरूमा जाम हुने, अस्तव्यस्त हुने र सडकमा नै खोला बग्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताइन् ।

उनले भनिन्, ‘भारी वर्षा हुने बित्तिकै काठमाडौँका सडकहरू जाम हुने, काठमाडौँ अस्तव्यस्त हुन्छ । सडकमै खोला बग्ने अवस्था भएकाले यो समस्या आएको हो । मुलमुल सडकमै खोला बग्छ । त्यसको व्यवस्थापन गर्नु पर्यो ।’

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले काठमाडौँका सडक छेउमा बहने नदीहरूमा तत्काल ढल गाढेर सुरक्षित गर्नुपर्ने बताए । उनले काठमाडौँका यस्ता समस्याहरूको दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताए ।

उनले भने, ‘एक जना बालक बेपत्ता छन् । त्यहाँ फेरि पनि पानी आयो भने समस्या जस्ताको तस्तै छ । त्यसमा अहिले तत्काल ढल गाढेर अहिले तत्काल निकास दिन के गर्नुपर्छ ? र, दीर्घकालीन रूपमा समस्या समाधानका लागि तपाईँहरूको कुरा के छ ? यसका लागि हामी अनुगमनमा जान पनि तयार छौं । यसको समाधानको कुरा सरकारबाट हामीले चाहेको हो ।’

समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले पानी पर्नु भन्दाअघि एक पटक ढलको मंगालहरू सफा गर्नुपर्ने अभियान चलाउन आवश्यक रहेको बताइन् । उनले सडक निर्माणमा दीर्घकालीन योजना बन्न नसकेको बताइन् ।

उनले भनिन्, ‘पानी पर्नु भन्दाअघि एक पटक ढलको मंगालहरू सफा गर्नुपर्छ । यो अभियान चलाउनुपर्छ । बाटो भन्दा तल बनेको घरमा पानीहरू पस्ने भएकाले त्यसको समाधान गर्नुपर्छ । सडक निर्माणमा दीर्घकालीन योजना नबनेको हो की भन्ने जस्तो लाग्छ । किनभने एकछिनमै बनायो, एकछिनमै भत्कायो छ, विदेशतिर बनिसकेपछि त्यसरी फेरि फेरि भत्काउने काम गरिँदैन । हाम्रोमा धेरै भत्किने नबनिने छ, ढलको समस्या ठूलो छ, भत्काउने नबनाउने, त्यसैले काम गरिसकेपछि त्यसलाई व्यवस्थित गर्नुपर्छ ।’

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद ऐनबहादुर शाही ठकुरीले सामाखुसीको बाढीमा परी बेपत्ता भएका बालकको खोजि कार्य तीब्र बनाउनुपर्ने बताए । उनले आगामी दिनमा यस किसिमका घटना हुन नदिन विपद् पूर्व तयारी गर्नुपर्ने बताए ।

उनले भने, ‘सामाखुसीमा केही दिनअघि मात्रै विधान आलेमगर बेपत्ता हुनुभयो, त्यसका लागि आज ९ दिन भइसक्दासमेत उनको अवस्था जानकारी भइरहेको छैन, यसलाई अझै खोजि कार्य बढाउनुपर्छ । अब यस्ता घटना नदोहोरिउन्, यस्तो बेलामा सबै विपद् पूर्व तयारी होस् ।’

सांसद ठकुरीले काठमाडौँको ढल व्यवस्थापनमा विशेष जोड दिनुपर्ने बताए ।


Author

थप समाचार
x