राजनीति

विपद् व्यवस्थापनमा भौतिक मन्त्रालय एक्लैले गर्न सक्दैन : मन्त्री ज्वाला

इकागज |
साउन १६, २०८० मंगलबार १७:४९ बजे

काठमाडाैँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो मन्त्रालय एक्लैले काठमाडौँमा वर्षाका कारण हुने विपद् व्यवस्थापन गर्न नसक्ने बताएका छन् ।

मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठकले बोल्दै उनले सो बताएका हुन् । बैठकमा संसदहरूले गत साउन ७ गते सामाखुसी खोलामा बाढीमा परी एक बालक बेपत्ता भएको घटनाबाट पाठ सिकेर त्यस क्षेत्रमा फेरि त्यस्तो घटना हुन नदिने गरी ढलसहितका आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए ।


जवाफमा मन्त्री ज्वालाले ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरूबीच छलफल गरेर मात्रै अघि बढ्न सकिने जनाए । उनले आफ्नो मन्त्रालयको क्षेत्राधिकार भित्र नपर्ने विषयमा एक्लै समस्याको समाधान गरेर अघि बढ्ने भन्ने कुरा हुनै नसक्ने जिकिर गरे । मन्त्री ज्वालाले आफ्नो मन्त्रालयसँग सम्बन्धित पुल, सडक लगायतको समस्याबाट कुनै पनि खालको क्षति नहोस् भन्ने कुरामा भने आफ्नो मन्त्रालय सचेत रहेको बताए ।

मन्त्री ज्वालाले वर्षाका कारण पूर्वका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएपछि आफ्नो मन्त्रालयले त्यसो हुन नदिन सक्दो प्रयास गरिरहेको दाबी समेत गरे।

उनले मुग्लिन–नारायणगढ सडक खण्डमा देखिएको समस्या फेरि नबल्झिने गरी समाधान गरिएको पनि जानकारी गराए । 


Author

थप समाचार
x