सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको संलग्नता हुनसक्ने शेखर कोइरालाको आशंका
काठमाडौं– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराई सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताएका हुन् ।
सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहेका (नवराज ढुंगाना) लाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको उनले बताए । काेइरालाले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराई राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चार माध्यमहरुले खोज्नुपर्ने बताए ।
उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान ओझेलमा पर्ने दाबी गरे । उनले भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको बताए । नेता कोइरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरुको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको आशंका व्यक्त गरे । उनले देशमा अराजकता र दण्डहीनता बढिरहेको बताए ।
काेइरालाले मानिसको हत्यागर्नेहरुलाई राजनीतिक लेपमा छुट दिनु देशका लागि राम्रो नभएको जिकिर गरे ।
पार्टी सभापति शेरबहादुर देउवासँग आफू नमिलेको र बोलाएपछि मात्रै पार्टी सभापति कहाँ जाने गरेको काेइरालाकाे भनाइ थियाे । उनले पार्टी सभापतिले गरेका गल्ती र कमजोरीहरुमा आफूले असहमति राखिरहेको स्पष्ट पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया